free website hit counter

समितिको निर्देशनअनुसार सुधारमा लागेका छौं

beemaadmin
२०७७ फाल्गुन २८, शुक्रबार

० मुलुकको बीमा क्षेत्रलाई यहाँले कसरी नियालिरहनु भएको छ ?
– आमजनमानसमा भूकम्पपछि सबैले बीमा गर्नुपर्ने रहेछ भन्ने एक खालको सन्देश गएको थियो । त्यसपछि बीमा गर्नेको सङ्ख्या क्रमशः बढ्दै छ । निर्जीवन बीमा गर्नेको सङ्ख्या पनि बढ्यो । निर्जीवन बीमाबापतको क्षतिपूर्ति सहज रूपमा पाएका कारण पनि आमसर्वसाधारणको विश्वास बढेको स्थिति थियो । पछिल्लो दिन कोभिड–१९ आइसकेपछि निर्जीवन बीमाअन्तर्गत नै कोरना बीमा सुरु भयोे । यसले पनि सर्वसाधारणमा बीमाप्रति सकारात्मक धारणा बन्न पुग्यो । बीमा गर्नेको सङ्ख्या बढ्दै गर्दा, बीमा दाबीको भुक्तानीमा भने केही प्रक्रियागत ढिलाइ हुन पुगेका कारण केही नकारात्मक सन्देश जाला कि भन्ने डर भने कायमै छ । यद्यपि कोरोना बीमा निर्जीवनबाट सञ्चालन हुने भएकाले त्यसको प्रभाव जीवन बीमा कम्पनीहरूमा पर्दैन तर यही कुरा आममानिसलाई बुझाउन सकिइरहेको छैन ।

० व्यावसायिक रूपमा हेर्दा अहिले बीमा क्षेत्रको अवस्था कस्तो छ ?
– व्यवसायको हिसाबले कुरा गर्ने हो भने विगतमा केही महिना बीमा कम्पनीहरूले राम्ररी सेवा प्रदान गर्न नसके पनि गत आर्थिक वर्षको अन्तिमसम्म आउँदा उठ्नुपर्ने सम्पूर्ण बीमा उठ्यो । आर्थिक वर्षको अन्त्यसम्मा बीमा शुल्क तिरेमा कुनै पनि विलम्ब शुल्क नलिने नीतिगत व्यवस्था गरिएकाले पनि ठूलो नकारात्मक असर परेन । अघिल्ला वर्षको भन्दा गत आवमा बीमा कम्पनीको प्रिमियम सङ्कलन बढेको तथ्याङ्कले पनि देखाएको छ । यद्यपि कम्पनीले प्रिमियम सङ्कलनबाहेक गर्नुपर्ने अन्य काम भने गर्नसकेको अवस्था देखिएन । जस्तो, शाखा कार्यलय विस्तार गर्ने, कर्मचारी नियुक्त गर्ने, अभिकर्ताका लागि तालिम सञ्चालन गर्दै आमग्राहकसमक्ष पुग्नेजस्ता गतिविधि भने अगाडि बढाउन सकिएन ।

० बीमा संस्थान ५४औँ वर्षमा प्रवेश गर्दै छ, यसको अहिलेको अवस्था कस्तो छ ?
– संस्थान ५४औँ वर्षमा प्रवेश गरिरहँदा विगतको तुलनामा केही प्रगति हामीले हासिल गरेका छौँ । हाम्रो वित्तीय विवरण हे¥यो भने पनि संस्थान तेस्रो वा चौथो स्थानमा रहेको देखिन्छ तर हामी सबैभन्दा पुरानो जीवन बीमा कम्पनी भएको र ५४औँ वर्षिकोत्सव मनाइरहेको सन्दर्भमा हेर्ने हो भने अहिलेको उपलब्धि र अवस्था सन्तोषजनक भने पक्कै होइन । यतिबेला योभन्दा धेरै उपलब्धि हामीले हासिल गरिसकेको हुनुपथ्र्याे । हामीभन्दा पछाडि आएका बीमा कम्पनी हामीभन्दा धेरै अगाडि बढिसकेका छन् । त्यसैले संस्थामा अझै काम गर्नुपर्नेछ ।

० यति पुरानो संस्थानलाई अगाडि बढ्न के कुराले बाधा पु¥यायो ?
– बाधक एउटै मात्र छैन । सुरुका दिनमै संस्थानले आधार बनाउन सक्नुपथ्र्यो, त्यो सकेन । बीमा बजारको सबैभन्दा पुरानो कम्पनी भने पनि बजार विस्तारमा सबैभन्दा नयाँ कम्पनीजस्तो भइराखेको छ । निजी कम्पनीहरूले धेरै शाखा विस्तार गरेर व्यवसाय अगाडि बढाइरहँदा हामीले भर्खर मात्रै शाखा खोल्ने क्रम सुरु गरेका छौँ । त्यस्तै जीवन बीमा क्षेत्रमा मेरुदण्डकै रूपमा रहेका अभिकर्ताको एउटा सञ्जाल निर्माण गर्नुपथ्र्याे, त्यो सञ्जाल पनि हामीले समयमा बनाउन सकेनौँ । बल्ल योजनाबद्ध ढङ्गले ती कार्यक्रमको थालनी गरेका छौँ । त्यसमा पनि कोरोनाका कारण गति दिन कठिनाइ भयो । राष्ट्रिय बीमा संस्थानको सबैभन्दा ठूलो समस्या भनेको विगतमा १२ वर्षसम्म लेखापरीक्षण समयमा सम्पन्न हुन नसक्नु नै हो । त्यो सम्पन्न नहुँदा एक्चुरिज भ्यालुएसन पनि समयमा गर्न सकेनौँ । त्यसलाई सुधार गर्दै अगाडि बढ्न अहिले हामीले १२ वर्षमध्ये आठ÷नौ वर्षदेखिको भ्यालुएसन सम्पन्न गरिसक्यौँ । छ वर्षको भ्यालुएसन बीमा समितिमा स्वीकृतिका लागि पठाइसकेका छौँ । त्यहाँबाट क्रमशः स्वीकृत हुँदै आएमा हामीलाई पनि अगाडि बढ्न सहज हुन्थ्यो तर समितिले विगतदेखि अहिलेसम्मकै सम्पूर्ण काम सकेपछि एकैपटक स्वीकृति दिने भनेर रोकेको छ । हामीले दुई÷तीन वर्षका कम अझै सम्पन्न गर्न बाँकी छ । त्यसलाई जतिसक्यो छिटो सम्पन्न गर्ने लक्ष्यले काम गरिरहेका छौँ ।

० बीमा क्षेत्रमा चेतना, साक्षरता अझै पनि कम छ । धेरैले अझै पनि बीमा बुझेका छैनन् । सरकारी स्वामित्वको बीमा संस्थानले यसमा के गरेको छ ?
– हाम्रोतर्फबाट पनि बीमासम्बन्धी सचेतना अभिवृद्धिका काम सुरु गरेका थियौँ । कोभिड–१९ सुरु भएपछि हामीले त्यो अभियानलाई रोक्नुप¥यो । हामीले विद्यार्थीसँग बीमा भन्ने कार्यक्रम कार्यान्वयनमा ल्याएका थियौँ । हाम्रा हरेक शाखा कार्यालयका कार्य क्षेत्रका विद्यालय र कलेजमा बीमाको महत्व र आवश्यकताका बारेमा बुझाउने थालिएको थियो तर बन्दाबन्दीको अवस्थाले त्यसलाई रोक्यो । यसबाहेक केही अन्तक्र्रिया र छलफलका कार्यक्रम सञ्चालन गरिरहेका छौँ । विशेष परिस्थितिजन्य कारणले यसमा पनि सोचेजति धेरै गर्न सकिएको छैन । यस्ता काम एउटा संस्थाले मात्रै गर्नुभन्दा पनि बीमा समिति र सम्पूर्ण बीमा कम्पनीले समन्वय गरेर गर्नुपर्ने हो ।

० यहाँले नेतृत्व सम्हालेपछि के के काम सम्पन्न गर्नुभयो त ?
– पुरानो लेखापरीक्षण रोकिएको थियो, त्यसलाई अगाडि बढाउने काम हामीले सुरु गर्यौँ । धेरै काम हामीले आन्तरिक रूपमा सम्पन्न गरेका छौँ । नौ वर्षको एक्चुरिज भ्यालुएसनको काम सम्पन्न गरिसकेको छ । संस्थानको पुनर्बीमाको हिसाबकिताब लामो समयसम्म रोकिएको रहेको थियो, त्यो पनि करिब नौ वर्षको हामीले सम्पन्न गरिसकेका छौँ । बीमा व्यवसायलाई अगाडि बढाउने क्रममा २२ वटा शाखा कार्यालय विस्तारसँगै ती कार्यलयबाट बीमालेख जारी गर्न सक्ने अवस्थामा आइपुगेका छौँ । त्यस्तैगरी आमजनतामा पुग्न अभिकर्ताको सङ्ख्या र क्षमता अभिवृद्धि गर्ने तालिमलाई निरन्तरता दिएका छौँ । संस्थानसँग रहेको पुरानो सफ्टवेयरलाई निरन्तरता दिइरहेका छौँ भने २०७६ साउन १ पछिका सम्पूर्ण व्यवसाय हामीले नयाँ वेबबेस सफ्टवेयरमार्फत सञ्चालन गर्न थालेका छौँ । त्यो एउटा उपलब्धिका रूपमा रहेको छ । यही वर्षभित्र हामी पुराना डाटाहरूलाई माइग्रेसन गर्छौं र एकीकृत रूपले अगाडि बढ्छौँ । ग्राहकको प्रिमियम तिर्ने समय आएको वा तिरिसकेपछि त्यसको जानकारी हामीले एसएमएसमार्फत दिने सुविधा पनि अहिले सञ्चालनमा आएको छ । हामीले केही बीमा योजना पनि ल्याएका छौँ । यस क्रममा राष्ट्र सेवकको बीमा सुरु गरेका हौँ । हाम्रो बीमा व्यवसायको करिब ४५ प्रतिशत हिस्सा राष्ट्र सेवक कर्मचारीको बीमाबाट भएको छ । ग्राहकलाई सहज सेवा प्रदान गर्न सकियोस् भनेर कार्यालयको लेआउटलाई पनि परिवर्तन भएको छ । त्यस्तै केही नीति नियम निर्माण गर्ने र भएका नीतिमा परिमार्जन गर्ने, बीमा समितिको निर्देशनअनुसार सुधार गर्ने काम पनि भएको छ । नयाँ कर्मचारी नियुक्त गरेर कार्य क्षेत्रमा पठाउने काम पनि सम्पन्न भएको छ । अभिकर्ताको इन्सेन्टिभ दिने व्यवस्थाको कार्यविधिमा पनि परिवर्तन गर्यौँ ।

० संस्थानले अहिले कस्ता बीमा योजनाहरू ल्याएको छ ?
– जीवन बीमामा तीन खालका जीवन बीमा हुने गर्दछन् । आजीवन जीवन बीमा, सावधिक जीवन बीमा र म्यादी जीवन बीमा । अहिले हामीसँग धेरै सञ्चालनमा सावधिक जीवन बीमा हो । त्यसमध्ये पनि जीवन सुरक्षा भन्ने एउटा योजना छ । त्यो सबैभन्दा बढी बिक्री हुने योजना हो । आजीवन जीवन बीमाको सुरुवातमा केही मात्रामा गरिएको थियो भने अहिले त्यो योजना बिक्री कम भएको अवस्था छ । त्यस्तैगरी म्यादी जीवन बीमा पनि हाम्रो अलि पुरानो भएको र त्यसमा त्यति आकर्षण नभएकाले यही वार्षिकोत्सवको अवसर पारेर सामूहिक म्यादी जीवन बीमा ‘हाम्रो जीवन बीमा’ भन्ने योजना लागू गर्दै छौँ । अन्य सावाधिक जीवन बीमामा आठ, नौ प्रकारका छन् । जीवनबन्धु, बालबच्चाको छ । जीवन सुरक्षालगायत अन्य एक दर्जन बीमा योजना रहेको छ ।

० हाम्रो जीवन बीमा कस्तो प्रडक्ट हो ?
– वार्षिकोत्सवकै अवसरमा सार्वजनिक गर्ने ‘हाम्रो जीवन बीमा’ सामूहिक म्यादी जीवन बीमाको प्रडक्ट हो । यसले बीमितको मृत्यु भएको अवस्थामा मात्रै जोखिम बहन गर्छ र प्रिमियम सस्तो हुन्छ । बढी जोखिममा काम गर्ने सङ्घसंस्थाले सामूहिक रूपमा बीमा गर्ने खालको प्रडक्टको माग गरेबमोजिम यो प्रडक्ट ल्याइएको हो । यस्तो खालको प्रडक्ट अहिलेसम्म रहेनछ । त्यसैले नयाँ प्रडक्टका रूपमा त्यसलाई पहिलो प्राथमिकतामा राखेर सुरु गर्दै छौँ ।

० बीमा संस्थान र अन्य बीमा कम्पनीमा कार्यरत अभिकर्ताको सेवा सुविधामा पनि फरक छ भनिन्छ नि ?
– संस्थान र अन्य बीमा कम्पनीका अभिकर्तालाई दिइने सेवा सुविधामा फरक देखिएपछि हामीले पनि त्यही मोडालिटीमा दिन कार्यविधिलाई परिमार्जन गरेका छौँ । गत वर्षको पुस/माघतिर नै कार्यविधि संशोधन भए पनि कोभिडका कारण पूर्ण रूपमा कार्यान्वयन हुन सकेन । अब त्यो कार्यान्वयन हुन्छ । हाम्रा अभिकर्ताको सङ्ख्या वृद्धि गर्नलाई यसले मद्दत गर्छ । हामीले दिने इन्सेन्टिभलाई पनि पारदर्शी बनाएका छौँ ।

– भेषराज बेल्बासे/गोरखापत्र दैनिक

 

सम्बन्धित समाचार