free website hit counter

सम्पत्ति बीमामा ५० प्रतिशत अनुदान दिँदै काठमाडौं महानगर

beemaadmin
२०७८ मंसिर २४, शुक्रबार

काठमाडौं । नेपालमा जीवन बीमा जति प्रचारमा र प्रयोगमा आएको छ त्यसको दाँजोमा सस्तो भए पनि सम्पत्ति बीमामा मानिसको आकर्षण बढ्न सकेको छैन । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाएकाहरू महानगरबासीको घरको बीमा गर्न अनुदान दिने भएको छ । सर्वसाधारणको सम्पत्तिलाई बीमाको दायरामा ल्याउन र सम्पत्ति कर तिर्नको लागि प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको हो । चालु आर्थिक वर्षदेखि काठमाडौं महानगरले सम्पत्ति कर तिर्ने करदातालाई घरबीमा गर्दा लाग्ने बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिन लागेको हो ।
सम्पत्ति बीमा गराएपछि विभिन्न प्रकारबाट हुने क्षतिको क्षतिपूर्ति पाइन्छ । यसमा आगलागी वा आगोको कारणबाट हुने क्षति, हाहाहुरी लगायत हावाजन्य कारणबाट हुने क्षति, बाढी, डुवान, असिना झरी वर्षा लगायत पानीजन्य कारणबाट भएको क्षति, पहिरो, जमिन भासिने लगायत खस्ने वा भासिने कारणबाट हुने क्षति, चट्याङको कारणले हुने क्षति, विस्फोटको कारणले हुने क्षति, आकाशीय सामग्रीजन्य क्षति, धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति, स्वजलनबाट हुने क्षति, हुलदंगा तथा आतंकबादजन्य कारणले भएको क्षति र मिसाइल टेस्टिङ अपरेसनका कारणले भएको क्षतिमा क्षतिपूर्ति पाइन्छ ।
सबै कर दाताहरूलाई करको दायरामा ल्याउने र सम्पत्ति बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उदेश्यले यस्तो कार्यक्रम ल्याइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । काठमाडौं महानगरका स्थायी बासिन्दा र सम्पत्ति कर तिरेका व्यक्तिहरुले यस्तो सुविधा पाउने छन् । बीमा क्षेत्रको नियामक निकायले सम्पत्ति बीमा सम्बन्धी सचेतना अभिबृद्धि गर्ने प्रदेशदेखि स्थानीय तहसम्म विभिन्न चरणका कार्यक्रम तथा छलफल गरिरहेको छ । समितिले काठमाडौं महानगरसँग पनि सम्पत्ति बीमा कार्यक्रम लागू गर्न गराउनको लागि केही वर्षदेखि नै छलफल गरिरहेको थियो । महानगरपालिकाले कर सहभागिता बढाउन र बीमा सम्बन्धी सचेतना अभिबृद्धि गर्न यस्तो कार्यक्रम ल्याइएको जानकारी दियो ।
बीमा समितिले २०७५ सालमा सम्पत्ति बीमा निर्देशिका जारी गरेको छ । सो निर्देशिकाका अनुसार १ करोड रुपैयाँसम्मको घरको अतिसामान्य जोखिमको रक्षावरण गर्नको लागि बीमा गर्न प्रतिहजार रुपैयाँमा ५० पैसा बीमा शुल्क लाग्छ । यो भनेको १ करोड रुपैयाँ मूल्य बराबरको घरको बीमा गराउन ५ हजार रुपैयाँ बीमा शुल्क लाग्छ ।
यस्तो बीमा शुल्क एक वर्षका लागि हो । बीमा गरिएको घर लगायत सम्पत्तिमा बीमा अवधि बाँकी रहेको एक वर्षभित्रमा क्षति पुगे बीमा कम्पनीहरुले क्षतिपूर्ति दिन्छन् । सो अवधिमा कुनै क्षति भएन भने अर्को वर्षको लागि फेरि शुल्क तिरेर बीमा गराउनु पर्छ । बीमा कम्पनीलाई तिर्नुपर्ने बीमा शुल्कमा ५० प्रतिशत महानगरले दिने भएपछि घरधनीले १ करोड रुपैयाँ मूल्य बराबरको बीमा गराउन २५ सय रुपैयाँ तिरे पुग्छ ।

सम्बन्धित समाचार