बीमाले सम्भावित जोखिमलाई रोक्न नसके पनि जोखिम बहन गरेर पुनस्र्थापना गर्न सक्दछ । त्यसैले त बीमाको महत्व बढेको हो । कुनै पनि जोखिम पूर्व सूचना दिएर आउँदैन । त्यसैले जोखिमको हस्तान्तरण बीमालाई दिएर आफू सुरक्षित हुनुपर्दछ । चाहे धनसम्पत्ति होस् वा जीवन वा स्वास्थ्य सबै जोखिममै हुन्छ । बीमा कम्पनीले बीमितबाट बीमा शुल्क लिएबापत बीमा गरिएको सम्पत्तिको वा बीमितको जीवनमाथि पर्ने जोखिममाथि आर्थिक संरक्षण दिने काम गर्दछ । यसरी गरिने आर्थिक सुरक्षामा जुवा खेल पर्दैन किन कि यो व्यक्तिको खराब लतको कारक तत्व हो, भवितव्य होइन ।
नसोचेको क्षतिको पूर्ति यसको प्रमुख उद्देश्य हो । निर्जीवन बीमाको आधारभूत सिद्धान्तहरूमा बीमायोग्य हितको सिद्धान्त (Principle of Insurable Interest), परम सत्विश्वासको सिद्धान्त, (Principle of Utmost Good Faith) निकतम कारणको सिद्धान्त (Principle of Proodamate Cause) र क्षतिपूर्तिको सिद्धान्त (Principle of Identity) पर्दछन् ।
बीमा क्षेत्रमा बीमायोग्य हित महत्वपूर्ण कुरा हो । बीमित र बीमकबीचको सम्बन्ध जहाँ नोक्सान वा क्षति हुन्छ तर त्यसको पूर्ति नभएमा बीमायोग्य हितअन्तर्गत पर्दैन । बीमितको क्षतिलाई पूर्ति हुनु नै बीमायोग्य हितअन्तर्गत पर्दछ । आपसी समझदारीमा गरिने जोखिम हस्तान्तरण प्रक्रियामा बढी विश्वासको आधार लिइन्छ । सही गलत जे छ, दुवै पक्षले खुलस्त गराउनुपर्दछ । त्यसैले यसलाई परम सद्विश्वासको सिद्धान्त भनिन्छ ।
यसै गरी अर्को महत्वपूर्ण सिद्धान्त भनेको निकतम कारणको सिद्धान्त हो । बीमा गरिएको वस्तुको क्षति भएमा बीमा कम्पनीले जोखिम वहन गर्दछ तर बीमा गरिएको शीर्षक र क्षति सोही शीर्षकबमोजिम हुन जरुरी छ । उदाहरणको लागि एउटा मोटरको दुर्घटना बीमा गरिएको छ र सोही समयभित्रमा दुर्घटना भएमा उक्त मोटरमा भएको क्षतिको विवरणअनुसार क्षतिपूर्ति दिइन्छ । तर त्यही मोटर बाढीले बगाएमा, पहिरोले पुरेमा, आगलागी भएमा उक्त बीमाले क्षतिपूर्ति दिनुपर्दैन । त्यसैले क्षतिको निकटतम कारण के हो, त्यही हेरिन्छ ।
त्यस्तै, घरको आगलागी बीमा गरिएको छ तर भूकम्प आई घरको ग्यासपाइप चुँडिन गएर ग्यासको चुहावटले आगलागी भएको ठहर गरेमा यसको मुख्य कारण भूकम्प मानिन्छ, आगलागी बीमाले कभर गर्दैन वा क्षतिपूर्ति दिइँदैन । यसमा भूकम्पको बीमा समावेश गर्नुपर्दछ । त्यसैले बीमा गर्दा सबै शीर्षकको शुल्क तिरेर गर्नुपर्दछ ।