free website hit counter

सरकारले करको विवेकपूर्ण उपयोग गर्न पाउँछ : अर्थमन्त्री वाग्ले

beemaadmin
२०८३ असार ५, शुक्रबार

काठमाडौं,  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले संकलित करको रकम आवश्यकता र प्राथमिकताका आधारमा विवेकपूर्ण ढंगले उपयोग गर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले विभिन्न स्रोतबाट उठाइने कर एउटै सञ्चित कोषमा जम्मा हुने र त्यसको विनियोजन सरकारले आवश्यकताअनुसार गर्ने स्पष्ट पारे।

उनले कर संकलनलाई निश्चित प्रयोजनसँग मात्र बाँध्दा प्रशासनिक तथा कानुनी जटिलता उत्पन्न हुन सक्ने बताए। “सयौँ र हजारौँ स्रोतबाट उठाइएको कर एउटै सञ्चित कोषमा जम्मा हुन्छ र जनमत प्राप्त सरकारले त्यसको विवेकपूर्ण उपयोग गर्छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले पूर्वाधार विकास, वातावरण संरक्षण तथा स्वास्थ्य क्षेत्रजस्ता विभिन्न क्षेत्रमा करबाट प्राप्त स्रोत विनियोजन हुँदै आएको उल्लेख गर्दै आवश्यक परे संसद्को निर्देशनअनुसार विशेष प्रकृतिका बजेट कार्यक्रमसमेत सञ्चालन गर्न सकिने बताए।

उनका अनुसार सरकारले प्रशासनिक तथा कानुनी जटिलता नआउने गरी करको प्रभावकारी परिचालन गर्ने नीति अवलम्बन गरेको छ। साथै, बजेट विनियोजन प्रक्रियामार्फत विभिन्न क्षेत्रका आवश्यकताहरू सम्बोधन गरिने उनले बताए।

सम्बन्धित समाचार