free website hit counter

सरकार छाड्ने कि नछाड्ने आजै निर्णय हुँदै

beemaadmin
२०७६ मंसिर ७, शनिबार

काठमाडौं । आफूखुशी मन्त्रालय परिवर्तन गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट देखिएको संघीय समाजवादी पार्टीको पदाधिकारी बैठक राजधानीमा शुरु भएको छ । सरकारमा निरन्तरता दिने कि नदिने भन्ने विषयको निर्णय गर्न आजको बैठक बोलाइएको हो । उपप्रधानमन्त्री एवं पार्टी अध्यक्ष उपेन्द्र यादव शुक्रबार साँझ भारतबाट काठमाडौं फर्केपछि आज अबेर बैठक बोलाइएको हो । बैठक चार बजेदेखिनै बस्ने बताइए पनि ५ः३० बजेबाट मात्रै बैठक शुरु हुने बताइएको छ । यसअघि बसेको पार्टीको केन्द्रीय समितिका बैठकले सरकारसँग भएको संविधान संशोधन लगायतका दुइँ बुँदे माग पूरा गराउनका लागि सरकारमा निरन्तरतामा जोड दिएको थियो ।

केन्द्रीय समितिको बैठकले गरेको निर्णय अहिले मन्त्रालय परिवर्तन भएपछिको पदाधिकारीले उल्ट्याउन नसक्ला, संघीय समाजवादीका नेता डा. शिवजी यादवले बताए । केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन हुनुपर्छ भनेर आवाज उठिरहेको बेला पदाधिकारी बैठकले त्यसलाई सम्भवतः उल्ट्याउन नसक्ने भएका कारण पार्टीले तत्काल सरकार छाड्ने सम्भावना नरहेको उनको तर्क थियो । सरकारसँग गरिएका सम्झौता कार्यान्वयको शुरुआत नहुँदै सरकार छाड्न नहुने पार्टीका अन्य नेता तथा कार्यकर्ताको धारणा रहेको छ । यही धारणाका कारणले पनि उपेन्द्र यादव सरकारमा रहीरहने बलियो आधार रहेको छ । आजको पदाधिकारी बैठकले यसबारेमा ठोस निर्णय लिनेछ ।

सम्बन्धित समाचार