free website hit counter

सरकार, नेपालमा किन घट्दैन तेलकाे मूल्य ?

beemaadmin
२०८३ असार १३, शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य युद्धअघिकै स्तरमा झरे पनि नेपाली उपभोक्ताले तत्काल त्यसको लाभ पाउने अवस्था छैन। अमेरिका–इरानबीच तनाव कम भएसँगै विश्व बजारमा तेलको मूल्य ओरालो लागेको भए पनि नेपालमा इन्धनको मूल्य भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाउने नयाँ मूल्यसूचीका आधारमा मात्रै समायोजन हुने नेपाल आयल निगमले जनाएको छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखदेखि लागू हुने गरी नयाँ मूल्यसूची पठाउने भएकाले त्यसअघि पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गर्न सकिँदैन।

उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दैमा नेपालमा तत्काल पेट्रोल र डिजेलको मूल्य नघट्ने स्पष्ट पारे। निगमले आईओसीबाट प्राप्त हुने खरिद मूल्यकै आधारमा खुद्रा मूल्य निर्धारण गर्ने गरेको उनको भनाइ छ।

निगमका अनुसार हाल खाना पकाउने एलपी ग्यासमा अझै पनि ठूलो घाटा व्यहोर्नुपरेको छ। २ हजार १६० रुपैयाँमा बिक्री भइरहेको एक सिलिन्डर ग्यासको वास्तविक लागत करिब ३ हजार ४०० रुपैयाँ पुग्ने दाबी निगमको छ। यसअनुसार प्रत्येक सिलिन्डरमा करिब १ हजार १७४ रुपैयाँ घाटा भइरहेको जनाएको छ।

यही कारण पेट्रोल र डिजेलबाट हुने नाफा एलपी ग्यासको घाटा पूर्ति गर्न प्रयोग भइरहेकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि त्यसको सम्पूर्ण लाभ तत्काल उपभोक्तासम्म पुर्‍याउन कठिन हुने निगमको भनाइ छ।

निगमका अनुसार हाल देशभर दैनिक २ हजारदेखि २ हजार ५ सय किलोलिटर पेट्रोल तथा ४ हजारदेखि ४ हजार ५ सय किलोलिटर डिजेल खपत हुने गरेको छ। काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब ७००–७५० किलोलिटर पेट्रोल र करिब ७०० किलोलिटर डिजेल खपत हुन्छ।

प्रवक्ता ठाकुरका अनुसार विश्व बजारमा केही रिफाइनरीमा देखिएको उत्पादन समस्याका कारण प्रशोधित इन्धनको आपूर्ति अझै सीमित छ। विशेषगरी डिजेलको अन्तर्राष्ट्रिय माग उच्च रहेकाले कच्चा तेलको मूल्य घटेको अनुपातमा प्रशोधित इन्धनको मूल्य घट्न नसकेको उनले बताए।

नेपालमा इन्धनको खुद्रा मूल्य निर्धारण गर्दा आईओसीबाट खरिद मूल्य, सरकारी कर तथा राजस्व, ढुवानी खर्च, निगमको सञ्चालन खर्च, डिलर कमिसन र अन्य प्रशासनिक लागतलाई आधार बनाइने निगमले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटको लाभ उपभोक्तासम्म पुर्‍याउने तयारी भइरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्र भुसालका अनुसार प्रत्येक १५ दिनमा हुने बोर्ड बैठकले अन्तर्राष्ट्रिय मूल्य, निगमको आर्थिक अवस्था र उपभोक्ताको हितलाई आधार बनाएर मूल्य पुनरावलोकन गर्ने गरेको छ।

उनले निगमको घाटा क्रमशः कम हुँदै गएपछि मूल्य घटाउने नीति सरकारको रहेको र स्वचालित मूल्य प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा काम भइरहेको जानकारी दिए।

यता, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पूर्ववरिष्ठ उपाध्यक्ष गुणराज निरौलाले नेपालमा इन्धनको मूल्य अस्वाभाविक रूपमा महँगो भएको बताएका छन्। उनका अनुसार भारतको सीमावर्ती अररिया क्षेत्रमा डिजेलको मूल्य नेपालभन्दा निकै सस्तो छ भने सार्कका अन्य मुलुकको तुलनामा पनि नेपालमा इन्धन महँगो छ। खेतीपातीको मुख्य सिजन भएकाले अहिले मूल्य घटे किसान र उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने उनले बताए।

अमेरिका–इरानबीच युद्धविराम र तनावमा आएको कमीपछि विश्व बजारमा तेल आपूर्ति सहज बन्दै गएको छ। यसको प्रभावस्वरूप ब्रेन्ट क्रुडको मूल्य करिब ७२.१२ अमेरिकी डलर प्रतिव्यारेलमा झरेको छ।

अब भारतीय आयल कर्पोरेसनले जुन ३० मा नेपालका लागि नयाँ मूल्यसूची पठाउनेछ। यदि नयाँ खरिद मूल्य घटेर आयो भने नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल तथा अन्य पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटाउने सम्भावना रहेको जनाएको छ। त्यसैले अहिले उपभोक्ताको नजर आईओसीको नयाँ मूल्यसूचीमा केन्द्रित छ।

सम्बन्धित समाचार