free website hit counter

सहकारी ठगीको आरोप खेपिरहेका ज्ञानबहादुरलाई किस्तीमा मन्त्री पद

beemaadmin
२०८३ भाद्र ५, शुक्रबार

मकवानपुर । बागमती प्रदेशमा गठित नयाँ सरकारमा सहकारी ठगीको आरोप खेपिरहेका नेकपा एमालेका सांसद ज्ञानबहादुर तामाङलाई मन्त्री नियुक्त गरिएको छ।

मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारमा एमालेबाट समानुपातिक सांसद रहेका तामाङलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको हो। उनको मन्त्रालय केही दिनपछि तोक्ने तयारी रहेको बताइएको छ। तामाङले बिहीबार नै मन्त्री पदको शपथ लिएका छन् र हाल मुख्यमन्त्री कार्यालयमा पदभार सम्हालेका छन्।

तामाङमाथि नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारीको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप छ। बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई २०८१ पुस २९ गते समस्याग्रस्त घोषणा गरेको थियो। तामाङ उक्त सहकारीका पूर्वअध्यक्ष तथा सञ्चालक हुन्।

उनी २०७२ देखि २०७८ सम्म सहकारीको अध्यक्ष रहेको बताइएको छ। अध्यक्ष रहँदा महँगो ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट रकम संकलन गरी नुवाकोटको लिखु गाउँपालिका–९, थानसिङमा ४४ रोपनी जग्गा खरिद गरेको आरोप उनीमाथि छ।

उक्त जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीकै नाममा १४ करोड रुपैयाँ ऋण निकालिएको समेत आरोपमा उल्लेख छ।

सहकारी समस्यामा परेपछि तामाङ लामो समय सम्पर्कविहीन बनेको बताइएको छ। हाल नेसनल नमोबुद्ध सहकारीका ९६४ सदस्यले १ अर्ब ८ करोड ६४ लाख रुपैयाँ बराबरको मागदाबी गरेका छन्।

सहकारीमा ठूलो रकम हिनामिनाको आरोप खेपिरहेका व्यक्तिलाई प्रदेश सरकारमा मन्त्री नियुक्त गरिएपछि सहकारी ठगीका आरोपितलाई राजनीतिक संरक्षण दिइएको हो कि होइन भन्ने प्रश्नसमेत उठ्न थालेको छ।

सम्बन्धित समाचार