काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.६९ प्रतिशतले बढी हो। गत वर्ष यसै अवधिमा बैंकको खुद नाफा ६० करोड ६६ लाख रुपैयाँ रहेको थियो।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार, सञ्चालन नाफामा वृद्धि तथा इम्पेयरमेन्ट चार्जमा कमी आएपछि नाफा उल्लेखनीय रूपमा बढेको हो।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ८८ करोड ४४ लाख रुपैयाँभन्दा निकै बढी हो। त्यस्तै, खुद ब्याज आम्दानी पनि बढेर २ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुगेको छ।
इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आएको छ। अघिल्लो वर्ष ३४ करोड ५४ लाख रुपैयाँ छुट्याएको बैंकले यस वर्ष त्यसलाई घटाएर ९ करोड १३ लाख रुपैयाँमा सीमित गरेको छ। यद्यपि, खराब कर्जा (एनपीएल) अनुपात भने ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ।
बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने लाभांश क्षमता १०.३६ प्रतिशतबाट बढेर १३.१९ प्रतिशत पुगेको छ। समीक्षा अवधिसम्म बैंकको सञ्चित मुनाफा २ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको छ।
निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा पनि वृद्धि भएको छ। बैंकको कुल निक्षेप ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४५ अर्ब ८७ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ४.३४ प्रतिशत र कर्जा ७.०३ प्रतिशतले बढेको बैंकले जनाएको छ।
पूँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) १४.६३ प्रतिशत कायम रहेको बैंकको रिटर्न अन इक्विटी (आरओई) १४.५२ प्रतिशत र रिटर्न अन एसेट (आरओए) १.३७ प्रतिशत पुगेको छ। कस्ट अफ फन्ड भने ५.०१ प्रतिशतबाट घटेर ३.५४ प्रतिशतमा झरेको छ।
समीक्षा अवधिसम्म बैंकको प्रति सेयर आम्दानी (ईपीएस) २३.८३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १७.०६ रुपैयाँ थियो। प्रति सेयर नेटवर्थ १६९.५० रुपैयाँ कायम भएको छ भने मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) १६.९५ गुणा रहेको छ।
बैंकले आगामी दिनमा डिजिटल बैंकिङ विस्तार, सञ्चालन खर्च नियन्त्रण, गुणस्तरीय कर्जा प्रवाह, जोखिम व्यवस्थापन तथा दिगो नाफा वृद्धिलाई आफ्नो प्रमुख रणनीतिका रूपमा अघि बढाउने जनाएको छ।