काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर र सम्पत्ति बीमाले सबैभन्दा ठूलो हिस्सा ओगटेका छन् । सवारीसाधनको बढ्दो प्रयोग, मोटर बीमा अनिवार्य गर्ने सरकारी नीति तथा सम्पत्तिको बीमाप्रति बढ्दो आकर्षणका कारण यी दुई क्षेत्र निर्जीवन बीमा कम्पनीका प्रमुख व्यवसाय बनेका हुन् ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा १४ वटा निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रअन्तर्गत कुल २ लाख ५४ हजार ६ सय बीमालेख जारी गरेका छन् । ती बीमालेखबाट कम्पनीहरूले करिब ४ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

साउनमा मात्रै मोटर बीमातर्फ १ लाख २५ हजार ४ सय ३१ वटा बीमालेख जारी भएका छन् । यसबाट कम्पनीहरूले १ अर्ब २२ करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, सम्पत्ति बीमाअन्तर्गत ३६ हजार ७ सय ७० वटा बीमालेख जारी भएका छन् । यस क्षेत्रबाट कम्पनीहरूले १ अर्ब ६५ करोड ७१ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।
अन्य बीमा व्यवसायतर्फ सामुद्रिक बीमामा ३० हजार ५ सय ९१, हवाई बीमामा २६, इन्जिनियरिङ तथा ठेक्का–जोखिम बीमामा ९ हजार ६ सय ३२, विविध बीमामा १३ हजार ६ सय ५४, कृषि तथा बाली बीमामा १८ हजार ६ सय ४०, लघु बीमामा २५ हजार ६ सय ९२, दायित्व बीमामा १ सय २ र स्वास्थ्य बीमामा २ हजार ५४ वटा बीमालेख जारी भएका छन् ।
प्रदेशगत रूपमा बागमती प्रदेश निर्जीवन बीमा व्यवसायमा सबैभन्दा अगाडि रहेको छ । त्यसपछि लुम्बिनी, कोशी, मधेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् । बागमतीमा मोटर तथा सम्पत्तिसहित सामुद्रिक, हवाई, इन्जिनियरिङ तथा ठेक्का–जोखिम, विविध, कृषि तथा बाली, लघु, दायित्व र स्वास्थ्य बीमाको व्यवसायसमेत तुलनात्मक रूपमा बढी केन्द्रित देखिएको छ ।