काठमाडौं । देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव भएको भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले पछिल्लो पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै बजारमा ग्यासको आपूर्ति नियमित रहेको जनाएको छ।
निगमका अनुसार २०८२ चैतदेखि २०८३ साउनसम्म एलपी ग्यासको आयात निरन्तर भइरहेको छ। बरु पछिल्लो महिनामा आयात तथा बिक्री–वितरणको मात्रा उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाउँछ।
निगमले भदौ ३ गते जारी गरेको विज्ञप्तिअनुसार १४.२ केजीका एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था नियमित छ। २०८२ चैतमा ३५ हजार ७९९.४५ मेट्रिक टन ग्यास आयात भएकोमा २०८३ वैशाखमा ३२ हजार ५६.४४, जेठमा ३२ हजार ५४२.२९, असारमा ४४ हजार ४४४.४० र साउनमा ५० हजार ३९६.३५ मेट्रिक टन आयात भएको छ।
यस अवधिमा साउनमा ग्यासको आयात सबैभन्दा धेरै भएको हो। निगमका अनुसार साउनमा मात्रै ४० लाखभन्दा बढी सिलिन्डर बजारमा बिक्री–वितरण भएका छन्।
अघिल्लो महिनाको तुलनामा साउनमा करिब ९ लाख सिलिन्डर बढी बजारमा गएको निगमले जनाएको छ। यसले पछिल्लो समय ग्यासको आपूर्ति घटेको भन्दा पनि आयात र वितरणको मात्रा बढिरहेको देखाएको निगमको दाबी छ।
निगमले आगामी दिनमा पनि एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रहने जनाएको छ। आपूर्ति पर्याप्त रहेको अवस्थामा उपभोक्ताले अभाव हुने आशंकामा आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्दा कृत्रिम अभाव सिर्जना हुन सक्ने भन्दै निगमले सचेत गराएको छ।
निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ।