काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले २१ अर्ब ७१ करोड ३३ लाख ८१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिमा संकलन भएको १६ अर्ब ३८ करोड ८ लाख ७३ हजार रुपैयाँको तुलनामा ३२.५५ प्रतिशत बढी हो।
बीमा कम्पनीहरूले जारी गरेका बीमालेखलाई निरन्तर सक्रिय राख्न बीमितले तोकिएको अवधिमा प्रिमियम भुक्तानी गरी बीमालेख नवीकरण गर्नुपर्ने हुन्छ। यसरी नवीकरण भएका बीमालेखबाट कम्पनीहरूले नियमित रूपमा ठूलो रकम बीमाशुल्कका रूपमा संकलन गर्दै आएका छन्।
साउनमा सबैभन्दा धेरै नवीकरण बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ। कम्पनीले ५ अर्ब ६३ करोड ३५ लाख ३२ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ७४ करोड ३८ लाख १७ हजार, नेशनल लाइफले २ अर्ब ३८ करोड ८ लाख ६२ हजार, हिमालयन लाइफले १ अर्ब ९८ करोड ८७ लाख ७१ हजार र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १ अर्ब ९० करोड ६२ लाख ७३ हजार रुपैयाँ आर्जन गरेका छन्।
त्यसैगरी सूर्यज्योति लाइफले १ अर्ब १९ करोड ५० लाख ९५ हजार, एशियन लाइफले ९२ करोड १७ लाख १४ हजार, सानिमा रिलायन्स लाइफले ७१ करोड ३३ लाख ४५ हजार, सिटिजन लाइफले ६६ करोड २५ लाख ८८ हजार र आइएमई लाइफले ६५ करोड ४४ लाख ४३ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्।
प्रभु महालक्ष्मी लाइफले ५७ करोड ६८ लाख ३६ हजार, रिलायबल नेपाल लाइफले ५१ करोड ६४ लाख ९६ हजार, मेट लाइफले ४६ करोड १ लाख ४१ हजार र सन नेपाल लाइफले ३५ करोड ९४ लाख ६८ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्।
नवीकरण बीमाशुल्कको वृद्धिदर हेर्दा राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको नवीकरण बीमाशुल्क गत वर्षको साउनको तुलनामा ८५४.२० प्रतिशतले बढेको छ।
त्यस्तै, आइएमई लाइफको नवीकरण बीमाशुल्क २६.४० प्रतिशत, नेशनल लाइफको १९.६० प्रतिशत, रिलायबल नेपाल लाइफको १८.१८ प्रतिशत, सूर्यज्योति लाइफको १७.४७ प्रतिशत, सानिमा रिलायन्स लाइफको १६.३८ प्रतिशत र एशियन लाइफको १५.६५ प्रतिशतले वृद्धि भएको छ।
साउनमा नवीकरण बीमाशुल्कमा देखिएको उल्लेख्य वृद्धिले जीवन बीमा कम्पनीहरूको नियमित प्रिमियम संकलनमा सुधार आएको देखाएको छ। विशेषगरी पुराना बीमालेखलाई निरन्तरता दिने क्रम बढ्दा कम्पनीहरूको नवीकरण व्यवसायमा सकारात्मक प्रभाव परेको देखिन्छ।