free website hit counter

सातै प्रदेशबाट आएका सुझाव समेटेर विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गरिने

beemaadmin
२०८३ भाद्र ७, आईतवार

काठमाडौं । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव र निष्कर्षमाथि आइतबार काठमाडौंमा समग्र समीक्षा गरिने भएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने समीक्षा कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहनेछ। विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा सरोकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले सातै प्रदेशमा शिक्षा संवाद सञ्चालन गरेको थियो।

विराटनगरबाट सुरु भएको शिक्षा संवाद सुदूरपश्चिमको धनगढीसम्म पुगेर सातै प्रदेशमा सम्पन्न भएको हो। प्रदेशस्तरीय संवादमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहका प्रतिनिधि, शिक्षाविद्लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग विद्यालय शिक्षाका समस्या, चुनौती र सुधारका उपायबारे छलफल गरिएको थियो।

सातै प्रदेशबाट प्राप्त सुझाव, उठेका प्रमुख विषय र निष्कर्षलाई एकीकृत रूपमा समीक्षा गर्न काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शिक्षा संवाद आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

कार्यक्रममा प्रदेशस्तरीय छलफलबाट प्राप्त सुझावका आधारमा विद्यालय शिक्षा विधेयकको मस्यौदामा समेटिनुपर्ने प्राथमिक विषयबारे थप छलफल गरिनेछ।

प्रदेशस्तरीय संवादका क्रममा शिक्षकको पेशागत विकास, विद्यालय व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि, पाठ्यक्रम तथा मूल्यांकन प्रणाली, विद्यालय शिक्षाको गुणस्तर सुधार तथा संघ, प्रदेश र स्थानीय तहबीचको शैक्षिक जिम्मेवारीका विषय प्रमुख रूपमा उठेका थिए।

मन्त्रालयले सातै प्रदेशबाट प्राप्त सुझाव र काठमाडौंमा हुने समग्र छलफलबाट आएका थप सुझावलाई समेटेर विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गरी अघि बढाउने तयारी गरेको छ।

सम्बन्धित समाचार