free website hit counter

सानिमा बैंकले दियो १० प्रतिशत नगद लाभांश

beemaadmin
२०८३ आश्विन १३, मंगलवार

काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको २२औँ वार्षिक साधारणसभाले लाभांश वितरणसहित विभिन्न प्रस्ताव पारित गरेको हो।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा असोज १२ गते सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

त्यस्तै, अग्राधिकार सेयर पुँजीका लागि ८.२५ प्रतिशत नगद लाभांश, करसहित, प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ।

साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरेलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। असार मसान्तसम्म बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप २ खर्ब ४९ अर्ब ९३ करोड र खुद कर्जा सापटी २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बैंकको निक्षेप १०.८४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले बढेको बैंकले जनाएको छ।

बैंकको निष्क्रिय कर्जा अनुपात २.८७ प्रतिशत रहेको छ। त्यसैगरी, पुँजीकोष १२.८३ प्रतिशत, तरलता ३०.६८ प्रतिशत तथा मासिक औसत कर्जा–निक्षेप अनुपात ८०.७७ प्रतिशत रहेको बैंकले जनाएको छ।

साधारणसभामा बैंकको आगामी व्यावसायिक योजना, वित्तीय अवस्था तथा वित्तीय सुदृढीकरणका विषयमा समेत छलफल भएको जनाइएको छ। बैंकले आगामी दिनमा व्यवसाय विस्तारसँगै वित्तीय स्थायित्वलाई प्राथमिकतामा राख्ने जनाएको छ।

सम्बन्धित समाचार