काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने बीमा सल्लाहकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न गरेको छ।
ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा देशभरका शाखा तथा उपशाखामार्फत क्लब योजनामा सफलता हासिल गरेका बीमा सल्लाहकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज के.सी., प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापनका अधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले विभिन्न स्थानबाट सहभागी क्लब सदस्य तथा बीमा सल्लाहकारलाई स्वागत गर्दै कम्पनीप्रति उनीहरूले देखाएको विश्वास र व्यवसाय विस्तारमा पुर्याएको योगदानको प्रशंसा गरे। उनले बीमा सल्लाहकारहरूको निरन्तर मेहनत र योगदान कम्पनीको प्रगतिका लागि महत्वपूर्ण रहेको बताए।
प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीका क्लब सदस्यहरूप्रति आभार व्यक्त गर्दै बीमा सल्लाहकारलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, डेपुटी सीईओ निराजन कंडेलले जीवन बीमा व्यवसायमा टिमवर्क र सहकार्यको महत्वबारे धारणा राख्दै सामूहिक प्रयासबाट लक्ष्य हासिल गर्न सहज हुने बताए।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब, आकाश क्लब, ग्यालेक्सी क्लब र कसमस क्लब सञ्चालन गरेको जनाएको छ। क्लब सदस्यता प्राप्त गर्न वैयक्तिक कोड तथा टिम व्यवसायमार्फत संकलन गर्नुपर्ने न्यूनतम बीमाशुल्कको लक्ष्य निर्धारण गरिएको थियो। तोकिएको लक्ष्य पूरा गर्ने बीमा सल्लाहकारलाई सम्बन्धित क्लबको सदस्यता प्रदान गरिएको थियो।
कार्यक्रममा क्लब योजनामा सहभागी सबै सल्लाहकारका साथै वैयक्तिक कोड र टिम व्यवसायअन्तर्गत देशभर उत्कृष्ट तीन स्थान हासिल गर्ने बीमा अभिकर्तालाई कम्पनीले सम्मान गरेको थियो।
समारोहलाई मनोरञ्जनात्मक बनाउन चर्चित गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी तथा हास्य कलाकार मिस पबी र सुन्दर खनालले प्रस्तुति दिएका थिए। कार्यक्रममा विभिन्न नृत्य प्रस्तुतिसमेत समावेश गरिएको थियो।
कम्पनीले डिजिटल सेवा विस्तार, दाबी प्रक्रियामा सहजता, ग्राहक सम्पर्क प्रणालीको सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।
हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार यसको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीमा १७ हजारभन्दा बढी बीमा अभिकर्ता सक्रिय रहेको जनाएको छ।