काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा सामान्य बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १.६९ प्रतिशतले बढेर ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
नाफासँगै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि उल्लेख्य बढेको छ। गत आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ८५ करोड ४० लाख ६८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको ६ अर्ब ७६ करोड ६ लाख ४४ हजार रुपैयाँको तुलनामा यो १६.१७ प्रतिशतले बढी हो।
यस्तै, कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो भुक्तानी ६ अर्ब ५४ करोड २७ लाख ७३ हजार रुपैयाँ थियो।
कम्पनीको कुल आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीले ९ अर्ब ६० करोड ३१ लाख ७२ हजार रुपैयाँ कुल आम्दानी गरेको छ। अघिल्लो वर्षको ८ अर्ब ६९ करोड १६ लाख ५२ हजार रुपैयाँको तुलनामा कुल आम्दानी बढेको हो।
त्यस्तै, कम्पनीको कुल खर्च ९ अर्ब २२ करोड २८ लाख ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कुल खर्च ८ अर्ब ३१ करोड ८४ लाख ९० हजार रुपैयाँ थियो।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा १८ करोड ५९ लाख २५ हजार रुपैयाँ सञ्चित छ भने कम्पनीको जीवन बीमा कोष २५ अर्ब ५५ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६२ पैसा कायम भएको छ।