free website hit counter

सानिमा रिलायन्स लाइफको ‘भिजन टु भ्यालु २०८३’

beemaadmin
२०८३ श्रावण २९, शुक्रबार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एक आर्थिक वर्षको कार्यसम्पादन समीक्षा, उत्कृष्ट कर्मचारी तथा शाखालाई सम्मान र आगामी वर्षको रणनीति तय गर्ने उद्देश्यले आयोजना गरेको ‘सानिमा रिलायन्स भिजन टु भ्यालु २०८३’ कार्यक्रम सम्पन्न गरेको छ।

‘एम्पावरिङ द पिनाकल फर एलिट रिजल्ट्स’ भन्ने नारासहित पोखरास्थित एक होटलमा आयोजित दुईदिने कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलसहित उच्च व्यवस्थापन, प्रदेश प्रमुख, विभागीय प्रमुख, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा प्रबन्धक, मार्केटिङ अफिसर तथा ग्राहक सेवा अधिकृतहरूको सहभागिता थियो।

कार्यक्रमको उद्घाटन अध्यक्ष केडिया र सञ्चालक तोदीले पानसमा बत्ती बालेर गरेका थिए।

नयाँ उत्पादन र संस्थागत सुधारमा जोड

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रतनलाल केडियाले गत आर्थिक वर्षमा बीमाशुल्क संकलनमा हासिल भएको उपलब्धिका लागि कर्मचारीहरूलाई बधाई दिए। उनले आगामी दिनमा पनि टिमवर्क र अन्तरविभागीय समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

केडियाले आगामी वर्षका लागि नयाँ बीमा उत्पादनमा नवप्रवर्तन, सामाजिक उत्तरदायित्वका गतिविधि (सीएसआर) तथा शाखा कार्यालयको मानकीकरणलाई प्राथमिकतामा राखिने बताए।

प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीको दिगो वृद्धिका लागि टिमवर्क, उत्पादन विविधीकरण र बजारको बदलिँदो आवश्यकताको अध्ययनमा ध्यान दिन निर्देशन दिए। उनले संस्थागत सुशासन तथा अनुपालनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन रूपमा हितधारकको मूल्य अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे।

उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

कार्यक्रममा गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्दै लक्ष्य हासिल गर्ने क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा तथा उपशाखा प्रमुख, मार्केटिङ अफिसर र ग्राहक सेवा अधिकृतलाई सम्मान गरिएको थियो।

कार्यक्रमका क्रममा नायब प्रमुख कार्यकारी अधिकृतले कम्पनीको गत आर्थिक वर्षको वित्तीय तथा व्यावसायिक तथ्यांक प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा कम्पनीलाई थप उचाइमा पुर्‍याउन सबै कर्मचारीले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताए।

यस्तै, उत्कृष्ट शाखा तथा क्षेत्रीय प्रबन्धकहरूले आफ्नो कार्यअनुभव र सफलताका अभ्यासहरू एक–अर्कासँग आदानप्रदान गरेका थिए।

१६९ शाखाबाट सेवा विस्तार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले डिजिटल सेवा विस्तार, दाबी भुक्तानी प्रक्रियामा सहजता, ग्राहक सम्पर्क प्रणालीको सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार हाल देशभर १६९ शाखामार्फत सेवा प्रदान भइरहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी तथा लगानी २५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।

त्यस्तै, कम्पनीसँग २० हजारभन्दा बढी अभिकर्ता आबद्ध रहेको जनाइएको छ।

सम्बन्धित समाचार