free website hit counter

सानीमा लाइफको जीवन श्री बीमा योजना

beemaadmin
२०७६ मंसिर ३, मंगलवार

सामान्यतया जीवन बीमा कम्पनीको बोनसदर निश्चित अवधिपछि आम्दानीको आधारमा तय गरिन्छ । बीमा कम्पनी सञ्चालनको केही वर्षपछि मुनाफा दर (बोनस) निर्धारण गरिन्छ । तर सानिमा लाइफ इन्स्योरेन्सले ल्याएको सानिमा जीवन श्री जीवन बीमा योजना केही फरक छ । यो सीमित अवधिसम्म बीमा शुल्क भुक्तानी गरेर बीमा करार अवधिसम्म जोखिम बहन गरी मुनाफासहित बीमित (बीमा गर्ने व्यक्ति) लाई रकम फिर्ता गर्ने सावधिक जीवन बीमा हो । यस बीमा योजना खरिद १६ वर्षदेखि ६० वर्षसम्मको व्यक्ति गर्न सक्दछन् भने न्यूनतम बीमाङ्क ५ लाख हुनै पर्दछ र बीमाको करार अवधि १० वर्षदेखि २५ वर्षसम्म हुनेछ । भने बीमा समाप्ति हुँदा बीमितको उमेर ७० वर्ष नजिकसम्मको हुँदासम्म गर्न मिल्दछ । यस बीमालेखमा अधिकतम बीमाङ्क रकम नतोकिए पनि प्रस्तावकको आयस्रोत र स्वास्थ्य स्थितिको आधारमा तय गरिने र जोखिमाङ्कन विभागले स्वीकृति गरेको खण्डमा जति पनि रकमको गर्न सकिन्छ ।

यस बीमालेखको अर्को राम्रो पक्ष भनेको सीमित बीमा शुल्क भुक्तानी हो । जसअन्तर्गत ग्राहकले प्रस्ताव फारमममा भरेको बीमाको अवधिसम्म बीमा शुल्क बुझाउन पर्दैन । १० वर्षे अवधिको बीमा गर्दा ६ वर्ष, १५ वर्षे बीमा गर्दा १० वर्ष, २० वर्षे बीमा गर्दा १५ वर्ष र २५ वर्षे बीमा गर्दा १८ वर्षसम्म बीमा शुल्क (किस्ता) बुझाए पुग्दछ भने बीमा लेख परिपक्व नहुँदा पनि सो अवधिभर जोखिम बहन भैरहन्छ । जस्तै २५ वर्ष अवधिको बीमालेख खरिद गरेर १८ वर्षसम्म मात्र बीमा शुल्क तिरेको छ र बीमाङ्क रकम र मुनाफासहित २५ वर्षपछि फिर्ता पाउनेमा १९औं वर्षमा अप्रिय घटना वा जीवन क्षति भएमा पनि बीमालेखको सर्तअनुसार सबै सुविधा उपलब्ध हुन्छ । हुन त जीवन बीमामा बीमालेख जारी हुनासाथ वा बीमा शुल्क ग्रहण गरेलगत्तै बीमितको घटना घटेमा शर्त लागू भई सो अनुसारको रकम पाइन्छ नै तर यस बीमालेखमा बीमाशुल्क नलिएको ४–७ वर्षसम्म जोखिम बहन गर्ने महत्वपूर्ण छ ।

फरक के छ त ?
यस बीमा लेखको आधुनिकीकरण भनेको बोनसको नामाकरण गरेर प्रतिहजार रु. ७० बीमालेखमा नै तोकिएको छ यो भनेको सामान्य स्थितिमा बुझ्दा ७ प्रतिशत भए पनि गणितीय हिसावमा बढी हो वा कुनै पनि व्यापारभन्दा बढी नाफा हुन आउँछ ।

कसरी हुन्छ नाफा ?
यस बीमा योजनाको न्यूनतम बीमाङ्क रकम रु ५ लाखको सन्दर्भमा जाऊँ । यस बीमालेखअन्तर्गत एक वर्षको बीमा शुल्क तिर्दा ५ लाख तिर्ने होइन बीमकको दरअनुसार तिर्नु पर्दछ भने मुनाफा रकम वा बोनस ५ लाखको नै जोडिन्छ । तर आफ्नो लगानी ५ लाख हुँदैन एवं रितले हेर्दा १५ वर्षको जीवन बीमा यस योजनामा सहभागी भएमा वा बीमालेख खरिद गरेमा उक्त सुविधा उपलब्ध हुने निश्चित छ । यसै सन्दर्भमा सालाखाला हिसाव गर्दा बीमा शुल्क जति बुझाइयो आर्जित मुनाफा पनि (बोनस) त्यतिनै जोडिएर १५ वर्षको अवधिमा फिर्ता रकम दोब्बर भन्दा केही बढी हुन्छ । यस बीमालेखमा जति बीमा शुल्क तिरियो लगभग त्यतिनै बोनस रकम जोडिन्छ वा यो भनेको बीमा शुल्क बुझाए बराबर प्रतिवर्ष आम्दानी हुने व्यवसाय हो तर मात्र फरक के भने आफूले खरिद गरेको बीमालेखको अवधिपूरा हुनै पर्दछ । किनकि यो आपसी समझदारीमा गरिने सहमति करार हो ।

अन्य सुविधाहरू
यस बीमालेखअन्तर्गत अन्य सावधिक जीवन योजनामा पर्ने सबै सुविधा उपलब्ध हुन्छ । जसमा बीमालेख धितोमा समर्पण मूल्यको ९० प्रतिशत ऋण पाइन्छ भने २ वर्षको बीमाशुल्क बुझाएको खण्डमा बीमालेख खारेज वा समर्पण गरी आफूले बुझाएको शुल्क केही घटाएर करार समाप्त वा खारेज गर्न मिल्दछ भने फिर्ता रकम बुझाएको शुलकभन्दा कम हुन्छ । यो गर्न भन्दा बीमालेख धितो राखेर ऋण लिइ बीमा शुल्क बुझाई बीमालेख नियमित राख्दा धेरै आर्थिक फाइदा हुन्छ किनकि थोरै बीमा शुल्क तिरेर बीमाङ्क रकमको नै आर्जित मुनाफा पाइन्छ ।

सम्बन्धित समाचार