free website hit counter

सिआईबीमा हरेक दिन उपस्थित हुने गरी जमानीमा छुटे बैंकर

beemaadmin
२०८० चैत्र २, शुक्रबार

काठमाडौं । भ्रष्टाचार र अनियमितता सरकारी क्षेत्रमा मात्रै हुँदैन । निजी क्षेत्रमा पनि अनियमितता र भ्रष्टाचार व्याप्त छ । कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिर जमानीमा छुटेका छन् । उनीहरुलाई हरेक दिन सीआईबी उपस्थित हुने गरी हाजिरी जमानतमा छाडिएको बताइएको छ । अनुसन्धानको कामहरु लगभग पूरा भइसकेको र बयान समेत सकिएको अवस्थामा उनीहरुलाई कागज गरेर बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको सिआईबी स्रोतले बताएको छ । उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा जिल्ला अदालतबाट अनुमति लिएको थियो । सीआईबीले १५ फागुनमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरुले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो । यो धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको एसपी बोगटी बताउँछन् । हाल सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओका रुपमा कार्यरत थिए । यस विषयमा प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार