काठमाडौं । आफ्ना सबै कर्मचारीहरुको कोरोना भाइरस (कोभिड–१९) महामारीको विरुद्ध कोरोना बीमा गराएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना एजेन्सी म्यानेजरहरुलाई पनि रु. १ लाखको बिमालेख प्रदान गरेको छ । जीवन बीमा व्यवसायको विकास र विस्तारका लागि बीमा अभिकर्ताहरु कम्पनीको मेरुदण्ड भएको हुँदा कम्पनीसँग आवद्ध बीमा अभिकर्ता (सिटिजन लिडर) हरुको कार्य दक्षता अभिवृद्धि गरी उत्पादकत्व बढाउन तथा यस पेशालाई अझ मर्यादित एवम् व्यवसायिक बनाउन सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको यस सिटिजन लाइफले अहिलेको यस विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई रु. १ लाखको कोरोनाभाइरस, कोभिड–१९ बिमा सुविधा उपलब्ध गराएको जनाएको छ । उक्त सुविधा कम्पनीले निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सामुहिक बिमालेख खरिद गरी उपलब्ध गराएको हो । बीमा समितिको निर्देशन बमोजिम कोरोनाभाइरस रोगको रक्षावरण गर्नका लागि कोरोनाभाइरस (कोभिड–१९) नयाँ बीमालेख प्रचलनमा आउने बित्तिकै यस अघि सिटिजन लाइफले आफ्ना कर्मचारीहरुलाई पनि सोहीे सुविधा उपलब्ध गराएको थियो ।
कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमाङ्क रकम भुक्तानी लिन पाइनेछ । यस बिमालेखले बिमितहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान हुने कम्पनीले जनाएको छ । आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडरहरुको सेवा सुविधार क्षमता बृद्धि विकासमा अग्रणी भूमिकामा रहँदै आएको सिटिजन लाइफले आफ्नो यस प्रयासले आफ्ना लिडरहरुको क्यारियर एजेन्सीको रुपमा काम गर्न थप आधार तयार हुने बताएको छ ।