free website hit counter

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक वर्षमा ५ अर्ब ७८ करोडभन्दा बढी दाबी भुक्तानी

beemaadmin
२०८३ श्रावण २, शनिबार

काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा बीमितलाई कुल ५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेको जनाएको छ।

कम्पनीका अनुसार भदौ महिनाको अन्तिम साता भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएका हुलदंगा, तोडफोड तथा आगजनीबाट उद्योग, व्यापार, पूर्वाधार तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिको बीमा दाबीबापत मात्रै ३ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको छ।

यस्तै, जेनजी आन्दोलनबाहेकका अन्य विभिन्न बीमा दाबीबापत कम्पनीले २ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको जनाएको छ।

आर्थिक वर्षभर कम्पनीमा १७ हजार ६६४ वटा बीमा दाबी दर्ता भएकोमा १७ हजार ८७६ वटा दाबी फर्छ्योट गरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार यसले दाबी व्यवस्थापन र छिटो भुक्तानीप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ।

कम्पनीले देशभरका उद्योग, व्यवसाय तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको बीमा दाबी यथाशीघ्र फर्छ्योट गर्दै बीमितको हित संरक्षणमा आफू प्रतिबद्ध रहेको जनाएको छ।

साथै, भुक्तानी हुन बाँकी रहेका दावीकर्तालाई आवश्यक कागजात समयमै उपलब्ध गराई दाबी फर्छ्योट प्रक्रियामा सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ।

सम्बन्धित समाचार