free website hit counter

सीमा क्षेत्रमा अझै कडाई ६ हजार सशस्त्र प्रहरी परिचालन

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

काठमाडौं । कडा लकडाउनकाबीचमा पनि सीमा क्षेत्रमा भारतीय नागरिकको ओहोरदोहोर जारी रहेको गुनासोपछि सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको छ । सीमा क्षेत्रमा अवैध रुपमा आवागमन नहोस् भन्ने ध्येयका साथ लकडाउनलाई प्रभावकारी बनाउन एक हजार ६८ स्थानमा पिकेट स्थापना गरी उक्त परिमाणमा जनशक्ति खटाइएको हो । केही स्थानमा भने सीमा पूर्ण रुपमा नै बन्द गरिएको छ भने कोही कसैलाई पनि आवतजावत गर्न नदिइने प्रबन्ध गरिएको छ । छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा रहेको क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसिएमसी) मा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बललाई नै थप प्रभावकारी रुपमा लकडाउन पालना गराउन परिचालन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार लकडाउनका समयमा हुने अवैध आवतजावतका कारण कोरोनाको सक्रमण फैलने सन्त्रासलाई रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बललाई उल्लेख्य मात्रामा परिचालन गरिएको र उनीहरुले २४ सै घण्टा सीमा निगरानी गरिरहेका छन् ।

सम्बन्धित समाचार