free website hit counter

सुगममै छ बीमाकाे व्यवसाय विस्तार

beemaadmin
२०८३ श्रावण २०, बुधबार

काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यवसाय निरन्तर विस्तार भइरहेको देखिए पनि यसको अधिकांश हिस्सा अझै पनि शहरी क्षेत्रमा केन्द्रित रहेको तथ्यांकले देखाएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमकहरूले २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्, जसको सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशबाट आएको छ।

प्राधिकरणको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमकले संकलन गरेको कुल बीमाशुल्कमध्ये ८६ अर्ब ९६ करोड १५ लाख रुपैयाँ बागमती प्रदेशबाट मात्रै आएको हो। यो कुल व्यवसायको ४२.५० प्रतिशत हो, जसले जीवन बीमा बजार अझै पनि काठमाडौं उपत्यकासहितका शहरी तथा आर्थिक गतिविधि केन्द्रित क्षेत्रमा निर्भर रहेको संकेत गर्छ।

बागमतीपछि लुम्बिनी प्रदेश दोस्रो स्थानमा छ। यस प्रदेशबाट ३३ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जुन कुल व्यवसायको १६.१३ प्रतिशत हो। त्यसपछि कोशी प्रदेशबाट २५ अर्ब १६ करोड ५४ लाख रुपैयाँ (१२.३० प्रतिशत) बीमाशुल्क संकलन भएको छ।

यस्तै, गण्डकी प्रदेशबाट २१ अर्ब ३० करोड ४६ लाख रुपैयाँ (१०.४१ प्रतिशत), मधेश प्रदेशबाट १९ अर्ब १३ करोड रुपैयाँ (९.३५ प्रतिशत), सुदूरपश्चिम प्रदेशबाट १२ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ (६.२७ प्रतिशत) तथा कर्णाली प्रदेशबाट ६ अर्ब २१ करोड ३८ लाख रुपैयाँ (३.०४ प्रतिशत) बीमाशुल्क संकलन भएको छ।

तथ्यांकले बागमती प्रदेश एक्लैले कुल बीमा व्यवसायको झण्डै आधा हिस्सा ओगट्दा कर्णाली, सुदूरपश्चिम र मधेशजस्ता प्रदेशहरूको योगदान निकै न्यून रहेको देखाएको छ। यसले जीवन बीमा पहुँच र व्यवसाय विस्तारमा अझै पनि भौगोलिक असन्तुलन कायम रहेको तथा ग्रामीण र दुर्गम क्षेत्रमा बीमा पहुँच विस्तार गर्न कम्पनीहरूले थप रणनीतिक पहल गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

सम्बन्धित समाचार