free website hit counter

सूर्यज्योति लाइफको प्रस्तावित लाभांश पारित

beemaadmin
२०८१ बैशाख २२, शनिबार

काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित संस्थाको रुपमा चिनाउन सफल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा विराटनगरको होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । उक्त सभामा कम्पनीका सञ्चालकहरु, शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित बम्पर लाभांश अनुमोदन गरेको छ । जसमा कम्पनीको हाल कायम चुक्तापुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७.४६ रुपैयाँबराबरको बोनस शेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७.५४ रुपैयाँबराबरको नगद लाभांश करसहित अनुमोदन गरेको छ ।सभाले बोनस शेयर वितरणपछि हुने शेयर संरचना बमोजिम जारी पुँजी तथा चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम आवश्यक संशोधन गर्ने र कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०७९–८० मा सूर्यज्योति लाइफ इन्स्योरेन्स तथा साविक ज्योति लाइफ इन्स्योरेन्सबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षक आर्थिक प्रतिवेदनसहित २०७९ पुस ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९–८० को मिति २०७९ पुस गतेको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरुमाथि छलफल गरी पारित गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

सम्बन्धित समाचार