काठमाडौँ । स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको नेपाली सेनाले खरिद प्रक्रियाका लागि पाँच देशलाई पत्राचार गरेको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) ले तयार पारेको स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि नेपाली सेनाले पाँच देशलाई पत्राचार गरेको हो । नेपाली सेनाका सहायक रथी तथा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बनाएअनुसार स्वास्थ्य सामग्रीका लागि चीन, दक्षिण कोरिया, सिंगापुर, इजरायल र भारतलाई पत्राचार गरिएको हो । स्वास्थ्य सामग्रीको सूचीका आधारमा पाँच देशलाई पत्राचार गरिएको बताइएको छ । पत्र पठाइए पनि विश्वभर आवश्यक सामग्री भएका कारण तत्कालै मागेको जति सामग्री पाउने सम्भावना भने न्यून रहेको बताइएको छ । सेनाका अनुसार ती देशका सैनिक सहचारीमार्फत पनि स्वास्थ्य सामग्री खरिदका लागि पहल गरिएको छ ।