काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिस हुने तीन जनाको नाम लगभग टुंगो लागेको छ। शुक्रबार भएको प्रस्तुतीकरण र अन्तर्वार्तापछि छनोट समितिले अन्तिम तीन उम्मेदवारको सूची तयार पारेको स्रोतले जनाएको छ।
उच्च स्रोतका अनुसार सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट र पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षत्रीको नाम सिफारिस गर्ने तयारी भएको छ। सर्टलिस्टमा परेका अर्का प्रत्याशी डा. नवराज अधिकारी भने अन्तिम सूचीबाट बाहिरिएका छन्।
समितिले चारै उम्मेदवारको प्रस्तुतीकरण, अनुभव, कार्ययोजना र व्यक्तिगत विवरणको मूल्यांकनपछि तीन जनाको नाम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाउने तयारी गरेको बताइएको छ।
अब अर्थमन्त्री वाग्लेले सिफारिस भएका तीन जनामध्ये एक जनाको नाम मन्त्रिपरिषद्मा प्रस्ताव गर्नेछन्। त्यसपछि मन्त्रिपरिषद्ले सेबोनको नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।
स्रोतका अनुसार यसपटक अध्यक्ष नियुक्तिको प्रक्रियामा राजनीतिक हस्तक्षेप न्यून देखिएको छ। न अर्थमन्त्रीको तर्फबाट कुनै विशेष नामका लागि दबाब आएको छ, न प्रधानमन्त्रीको सचिवालयले नै विशेष चासो देखाएको बताइन्छ। त्यसैले छनोट समितिले सिफारिस गरेको सूची यथावत रहने सम्भावना उच्च रहेको स्रोतको दाबी छ।
सिफारिसमा परेका विनयदेव आचार्य लामो समयदेखि सेबोनभित्र कार्यरत छन्। संस्थाको आन्तरिक संरचना, नियामकीय प्रक्रिया र पुँजी बजारको व्यवहारिक पक्षबारे राम्रो अनुभव भएकाले उनी बलिया प्रतिस्पर्धी मानिन्छन्।
यस्तै, मुकुन्दकुमार क्षत्री नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनी यसअघि सेबोनको सञ्चालक समितिमा समेत रहेर काम गरिसकेका छन्। रमेश हमाल अध्यक्ष रहँदा क्षत्री बोर्ड सदस्य थिए।
डा. गोपाल भट्ट पनि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनले पुँजीबजार सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् र वित्तीय क्षेत्रको गहिरो अनुभव राख्छन्।
स्रोतका अनुसार अन्तिम सूचीमा परेका तीनै जनाले आफ्नो पक्षमा माहोल बनाउन प्रयास गरिरहेका छन्। तर विगतमा जस्तो राजनीतिक पहुँच, शक्ति केन्द्र वा बिचौलियामार्फत नियुक्ति सुनिश्चित गर्ने अभ्यास यसपटक कमजोर देखिएको बताइन्छ।
उल्लेखनीय रूपमा, सेबोन अध्यक्षको नियुक्ति पछिल्ला वर्षहरूमा राजनीतिक रूपमा निकै संवेदनशील विषय बन्दै आएको छ। दुई वर्षअघि अध्यक्ष नियुक्तिकै विषयलाई लिएर सत्ता समीकरण परिवर्तनसम्म भएको थियो। त्यसबेला सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनाउने विषयले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पारेको थियो।