कोरोना सङ्क्रमणका कारण राजधानीमा लागू भएको निषेधाज्ञाका कारण लगानीकर्ता ब्रोकरको कार्यालयसम्म गएर कारोबार गर्ने अवस्था छैन । तर विगतमा लामो समयसम्म बजार बन्द भएको पाठ सिक्दै बजार बन्द नगर्ने र पुरा समय सञ्चालन गर्ने निर्णयमा नेपाल धितोपत्र बोर्ड पुगेको छ भने त्यसलाई लगानीकर्ता र ब्रोकरले पनि साथ दिएको अवस्था हो अहिले ।
कोरोना संक्रमण बढ्दै गएपछि आएको यो परिस्थितिमा कारोबारका लागि हाल कतिपय लगानीकर्ताहरु सेयर खरिद विक्रीका अनलाइन कारोबार गरिरहेका छन भने धेरै लगानीकर्ता अझै पनि फोनको भरमा ब्रोकरकहाँ सम्पर्क राख्दै कारोबार गरिरहेको छन । सेयर विक्रीको भुक्तानी ब्रोकर कार्यालयहरुले आगामी दिनमा लगानीकर्ताको बैंक खाता निक्र्यौल गर्दै अनलाईन वा कनेक्ट आइपीएस जस्ता माध्यमबाट सिधै गर्ने व्यवस्थालाई बढावा दिएको अवस्था छ । जुन सराहनीय पनि छ । तर सेयर खरिदका लागि भने केही समस्या विद्यमान नै छ ।
लामो सयमदेखि कारोबार गरिरहेका लगानीकर्ता वा अनलाइन सेवा लिएका लगानीकर्ता बाहेकका धेरै लगानीकर्ताले सेयर खरिदका लागि ब्रोकरको कार्यालयमा पैसा जम्मा गर्दाको अवस्थामा मात्र सेयर खरिद गर्ने हुनाले यस्तो अवस्थामा पैसा कसरी जम्मा गर्ने समस्या निम्तिएको छ । त्यसैगरी खरिद भएको सेयरको भुक्तानी गर्नका लागि पनि व्यक्तिगत रुपमा साना लगानीकर्ताले न त अनलाइन सेवा नै सञ्चालन गरेको देखिन्छ न कनेक्ट आइपीएस वा अनलाइन भुक्तानीमा नै आफूलाई आवद्ध गरेको पाइन्छ । यसले धेरै लगानीकर्तालाई सेयर खरिदका लागि पैसा जम्मा गर्न वा खरिद भएको सेयरको भुक्तानी गर्न निकै अपठ्यारो परेको देखिन्छ । त्यसको असर बजारमा भएको कारोबारमा सहजै देख्न सकिन्छ । निषेधाज्ञाको समयमा कारोबारमा सामान्य बृध्दि भए तापनि कारोबार न्यून हुने अवस्था सिर्जना भएको छ ।
सबै लगानीकर्तालाई अनलाईन मार्फत सेयर कारोकार गर्न र भुक्तानीका लागि सूचना र प्रविधिको प्रयोग गर्न अभिप्ररित गर्नु उचित कदम भए तापनि एकै पटक त्यो सम्वभ देखिदैन । हालै प्रकाशित एक तथ्याङ्क अनुसार हाल दोस्रो बजारमा कारोबारमा सक्रिय लगानीकर्ता दुई लाख ६५ हजार नजिक रहे तापनि अनलाइनबाट दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ४७ हजार मात्र रहेको देखिन्छ । यस्तो अवस्थामा धेरै लगानीकर्तालाई खरिदका लागि रकम जम्मा गर्न वा खरिद गरेको सेयरको रकम भुक्तानी गर्न ब्रोकरको कार्यालयसम्म जाने व्यवस्था मिलाउन नियमनकारी निकाय धितोपत्र बोड वा नेपाल स्टक एक्सचेन्जले पहल गर्न जरुरी छ । विभिन्न स्थानमा छरिएर रहेको ब्रोकरको कार्यालयमा भुक्तानीका लागि मात्र लगानीकर्ता जाँदै खासै भीड नहुने निश्चित छ । एकै पटक पूर्ण अनलाईन मार्फत कारोबार र सूचना र प्रविधिको प्रयोगबाट रकम भुक्तानी गर्ने कुरा हाल सम्भव देखिदैन ।
सीडीएसको उपलब्ध तथ्यांक अनुसार हाल करिब १७ लाख ७७ हजार डिम्याट खाता रहेका छन । तर त्यसमा दोस्रो बजारमा नियमित कारोबार गर्ने लगानीकर्ता निकै कम छ । त्यसमा पनि अनलाईन मार्फत कारोबार गर्ने र भुक्तानीका लागि सूचना र प्रविधिको प्रयोग गर्ने लगानीकर्ता ज्यादै थोरै भएको अवस्थामा तत्काल पूर्ण स्वचालित माध्यमबाट कारोबार र भुक्तानी गराउने कुरा असम्भव नै देखिन्छ । कतिपय पुराना लगानीकर्ता सूचना र प्रविधिमा खासै रुची नराख्ने वा सञ्चालनका लागि योग्यता नराख्ने वा नचाहने कारण पनि हाललाई दुबै व्यवस्थालाई निरन्तरता दिनुको विकल्प छैन । ब्रोकर कार्यालयले सेयर विक्रीको रकम लगानीकर्ताको खातामा सोझै जाने व्यवस्था उपयुक्त होला किनकी उनीहरुको त्यस्तो प्रकृतिको धेरै काम हुन्छ । तर लगानीकर्ताले सूचना र प्रविधिको माध्यमबाट भुक्तानी गर्ने व्यवस्थालाई धेरैले अझै रुचाएको पाइदैन । त्यस्तो कार्यमा खतरा भएको उनीहरुको भनाइ छ ।