free website hit counter

सेयर बजारका लागि उपलब्धिपूर्ण बर्ष २०७७

beemaadmin
२०७८ बैशाख १, बुधबार
  • सरोज अधिकारी

सात २०७७ भर नै विश्वभर देखिएको कोभिड सङ्क्रमणका कारण थुप्रै व्यवसायिक क्षेत्र नराम्रारी प्रभावित बन्यो । नेपालमा पनि लामो समयको लक डाउन र सुस्तरी उठदै गरेको बन्द व्यापार र समग्र अर्थतन्त्रमा केही राहत देखिन थालेको अवस्था भए तापनि पुन कोभिडको सङ्क्रमणको त्रासले व्यवसाय खासै फस्टाउन सकेको छैन । तर नेपाली सेयर बजारको हिसाबले भने २०७७ साल निकै उत्साहजनक रह्यो । पर्यटन, यातायात लगायतका थुप्रै क्षेत्र नराम्ररी प्रभाविक बन्दा पनि सेयर बजार भने अलटाइम हाइ बनाएरै २०७७ बाट बिदा भयो । नेप्सेमा सालको अन्तिम दिन मंगलबार भएको कारोबारमा नेप्से परिसूचकाङ्क २३ दशमलब २३ अंकको बृध्दि सहित दुई हजार ७१४.७९ विन्दुमा उक्लिएको छ । जुन नेप्सेमा हालसम्मकै उच्च विन्दु पनि हो । कारोबार रकम पनि औषतभन्दा माथि नै भएको मंगलबार सात अर्ब १४ करोडभन्दा बढीको कारोबार भयो ।

मंगलबार नेप्से बढनुमा बैंक तथा वित्तीय सस्थाहरुको सेयरमा सामान्य उछाल आउनु पनि कारकतत्व बन्यो । चालु आर्थिक बर्षको नौ महिनाको प्रतिवेदन सार्वजनिक भइनसकेको अवस्थामा पनि छ महिनाको प्रतिवेदनमा भएको सुधारका कारण आगामी प्रतिवेदन पनि राम्रो आउने लगानीकर्ताको अनुमान र आशामा नै बजारमा बैंक तथा वित्तीय समूहको सेयरमा बढोत्तरी देखिन थालेको हो । बिकास बैंकहरुको चुक्ता पुँजीमा बृध्दिको हल्लाले पनि बजार बढाउन मद्दत पुगेको देखियो ।

चैत्र २७ गतेसम्मको नेपाल बैंकर्स संघको प्रकाशित तथ्याङ्क अनुसार बैंकहरुले ३९ खर्ब ३३ अर्ब निक्षेप संकलन गरेको तथा कर्जा लगानीतर्फ ३५ खर्ब ३५ अर्ब लगानी गरेको पाइनुले निक्षेप र लगानी उत्साहजनक रुपमा नै रहेको देखिएको छ । यसरी बैंकहरुमा लगानीयोग्य रकम (तरलता) पर्याप्त भएको तथ्याङ्कहरुले देखाउनुले आगामी दिनहरुमा पनि सेयरको माग उच्च हुने निश्चित छ । अनि लगानीको अन्य सम्भावनाहरु ह्वात्तै नबढेको अवस्थामा सेयर बजारमा माग कायमै रहने भएकोले पनि बजार अझै केही माथि जाने संकेत दिएको छ । बर्षको अन्तिम दिनको कारोबारमा बढोत्तरी मात्र होइन कारोबार रकम पनि सन्तोषजनक हुनुले पनि आशा पलाएको हो ।

बजार माथि जानसक्ने आधारहरु केलाउँदा नौ महिनाको प्रतिवेदन सकारात्मक हुने आशाका साथै सरकारले चालु बर्षको बजेटको प्रमुख हिस्सा खर्च गर्ने दिनहरु पनि आउँदैछन जसले बजारमा थप तरलता ल्याउन सहयोग पुग्ने निश्चित छ । त्यसले पनि सेयर बजारमा माग उच्च हुनसक्ने जसले बजारमा माथि जान सहयोगी भूमिका खेल्ने देखिन्छ ।

अधिल्लो बर्षको अन्तिम दिनको कारोबारमा नेप्से परिसूचकाङ्क एक हजार २५१.४५ को बिन्दूमा रहेको थियो । कोभिडको लामो लकडाउन पश्चात् बजारमा अझै केही गिरावट आए तापनि बजार खुलेको केही दिनमा नै सम्हलिएर बजार अधिल्लो अलटाइम हाइलाई नाध्दै उकालो लाग्यो र बर्षको अन्त्यसम्ममा आइपुग्दा बजारमा एक हजार ४६३.३४ अङ्कको बलियो उछाल देखिएको छ । जसले नेपाली सेयर बजारका लगानीकर्ताका लागि ०७७ साल सुखद नै रहेको पाइएको छ ।

बजार पुँजीकरणका हिसाबले पनि ०७६ सालको अन्तिमदिनको बजार पुँजीकरण १६ खर्बको हाराहारीमा रहेको अवस्थाबाट एक बर्षका ३७ खर्ब ५९ अर्बको नजिक पुग्नुले उत्साह थपिएको छ ।

बजारमा नयाँ लगानीकर्ता दिनानुदिन बढनु र बुलिस ट्रेन्ड पकडिसेको वर्तमान अवस्थामा आगामी दिनहरुमा पनि बजारमा सामान्य उतार चढाव देखिए तापनि अझै दुई–तीन बर्षहरु लगानीका हिसाबले राम्रो हुने आशा गर्न सकिने प्रसस्त आधारहरु तयार भएका छन ।

 

 

 

 

सम्बन्धित समाचार