free website hit counter

सेयर बजारमा देखिएको अबसर

beemaadmin
२०७६ मंसिर ३०, सोमबार

विगत झण्डै ४१ महिनादेखि लगातार घटिरहेको बजारबाट लगानीकर्तालाई केही राहत हुन थालेको छ । सेयर बजारमा हुने लगानीबाट केही हुँदैन भन्ने निराशावादी सोचबाट लगानीकर्तालाई केही राहत मिलेको छ । विगत नौ दिन लगातार बजार उकालो लागेर झन्डै ६० अङ्कभन्दा माथि बढेपछि बजारमा आइतबार सामान्य करेक्सन देखिएको छ । करिब पाँच अङ्कको करेक्सन देखिएको बजारमा कारोबार भने ६८ करोडभन्दा माथि रहनुले रहनुले भने बजारप्रति अझै धेरै आशा पलाएको छ लगानीकर्ता माझ ।

बजारबाट केही समयका लागि लगानीकर्तालाई राहत अवश्य पनि मिलेको छ । अनि बजार न्यून बिन्दूमा रहदा खरिद गरेको केही लगानीकर्ता हालको बढोत्तरीको फाइदा उठाउँदै बाहिरिनु स्वभाविक देखिएको छ । तर लामो समयदेखि सेयरमा लगानी थालेको लगानीकर्ताले कमाउने त के आफ्नो लगानी उठाउन पनि सक्ने अवस्था अझै आएको छैन । अर्थमन्त्रीका नीतिका कारण बजार घटेको विश्वास गर्ने लगानीकर्तालाई आगामी दिनमा अर्थमन्त्रीको निरन्तरता होला नहोला ? सरकारले विकास बजेट खासै खर्च गर्न नसकेको अवस्थाले नेपाली अर्थतन्त्रले अबको दिशा कस्तो लेला ? हाल देखिएको तरलता सहज होला वा नहोला ? व्याजदर घट्ला कि नघटला जस्ता चिन्ताका माझ पनि बजारले गति लिन थालेको देखिएको छ ।

भारतीय अर्थतन्त्रमा देखिएको शिथिलता त्यसमा पनि विगत आठ–दश बर्षकै कम आर्थिक बृध्दिदर भएको अवस्थाले त्यसको असर नेपालमा कस्तो पर्ला भन्ने सोच राख्नेका लागि भारतीय अर्थतन्त्रमा गिरावट देखिए तापनि त्यहाँको सेयर बजार उच्च बिन्दूमा नै रहनुले त्यहाँको अर्थतन्त्रमा आएको गिरावटका कारण सेयर विक्री गरी त्यस्तो रकम नेपाली बजारमा सानो मात्रामा मात्र भित्रने हो भने पनि नेपाली सेयर बजार माथि जान मद्दत पुग्ने देखिन्छ । औपचारिक रुपमा भारतीय लगानी नेपाली सेयर बजारमा आएको नदेखिए तापनि दुई मुुलुकबीच व्यापार गर्ने कतिपय लगानीकर्ताले नेपालमा सेयर बजारमा लगानीको राम्रो सम्भावना भएको वर्तमान समयमा रकम लगानी गर्ने अबसरको रुपमा लिन सक्छन ।

त्यसैगरी नेपालमा नै खुलेका कतिपय म्यचुअफल फण्डहरु, जीबन तथा निर्जीबन बिमा कम्पनीहरु र सस्थागत तथा व्यक्तिगत रुपमा ठूलो मात्रामा लगानी गर्नेहरु पनि बजारमा सेयरको खरिद बढाउन व्यक्त भएको अवस्थाले नै बजार हरेक दिन खासै ठूलो रुपमा नबढे तापनि कारोबार रकम भने उच्च हुन थालेको देखिएको छ । आइतबार देखिएको सामान्य गिरावटलाई पनि उच्च दरमा सेयर खरिदको माग भएको र सोही अनुपातमा विक्रीको चाप पनि देखिएकोले कारोबार उच्च तर सामान्य गिरावट आएको हो ।

नेपाली सेयर बजार सुधारका लागि गर्नुपर्ने थुप्रै कार्यको पहिचान भइसेकेको छ तर त्यसको सही कार्यान्वयनमा भने सरकारी उदासिनता देखिएको छ । नेपाल धितोपत्र बोर्डले अझै नेतृत्व पाउन सकेको छैन । अर्थमन्त्री डा. युवराज खतिवडा सेयर बजारप्रति पहिले देखि नै खासै सकारात्मक बन्न सक्नुभएको छैन । आफूलाई सेयर बजार मात्र हेर्ने फुर्सद नभएको, बजार घटाउने बढाउने सरकारको काम होइन जस्ता प्रतिकृया उहाँबाट प्रसस्त मात्रामा सुनिन्छ । सेयर बजारमा वर्चस्व राख्ने बैंक तथा वित्तीय क्षेत्रको प्रमुखको तलब बढी भयो भन्ने मै उहाँको समय वित्ने गरेको देखिन्छ ।

कुनै सस्थाले कुनै विशेषज्ञलाई नियुक्त गर्दा लक्ष्य समेत निर्धारण गरेर दिएको हुन्छ त्यस्तो लक्ष्य हासिल गर्न नसक्दा सञ्चालक समितिले नै हटाउने गर्छ यस्तो अवस्थामा निजी क्षेत्रका बैंक वित्तीय सस्थाहरुका प्रमुख र उच्च तहका कर्मचारीले पाउने सुविधाको मूल्याङ्क सरकारी तबरबाट गर्नु उपयुक्त होइन । बढी भएको सुविधामा सरकारले ३६ प्रतिशतसम्म आयकर लिने गरेकै छ । त्यसले पनि सरकारी राजश्वमा गतिलो योगदान पु¥याएको कुरा विर्सनु हुँदैन । सरकारले बजार घटाउने वा बढाउने अवश्य पनि होइन तर बजारसँग सम्वन्धित नीतिगत कुराको छिटो व्यवस्थापन, बजारमा पुँजीगत लाभकर लगायत थुप्रै कुरामा देखिएको नीतिगत अस्पस्टताको अन्यका लागि छिटो कदम चाल्ने दायित्व भने सरकारकै हो ।

हाल नेप्सेमा लघुवित्त, बिमा कम्पीहरु, हिमालयन डिष्टिलरी र साल्ट ट्रेडिड जस्ता कम्पनीको सेयर मूल्यमा निकै प्रगति भए तापनि बैंकिङ्ग क्षेत्रको सेयर मूल्यमा खासै सुधार आउन सकेको छैन । बैंक तथा वित्तीय क्षेत्रको सेयरमा सामान्य बृध्दि हुँदको अवस्थामा पनि विक्रीको प्रेसर आउने गरेकोले पनि बजारले गति लिन नसकेको हो । राम्रो प्रतिफल दिनसक्ने र गत बर्षको आम्दानीबाट दिने प्रतिफलको घोषणा समेत गरिसकेको नेपाल बैंक अनि किताबी मूल्य सरह नै बजार मूल्य भएको नेपाल टेलिकम जस्ता सस्थाको सेयर मूल्यमा खासै प्रगति हुन नसक्नुलाई भने अचम्म नै मान्नुपर्छ । यसले नेपाली सेयर बजारमा फन्डामेन्टलको राम्रो ज्ञान र कम्पनीको आर्थिक स्वास्थ्य हरेर सेयर मूल्य निर्धारण हुने भन्दा पनि अर्थमन्त्री रहने वा नरहने जस्ता हल्लाले बढी बजारमा प्रभाव पारेको स्पस्ट देखिन्छ ।

बजार लामो समयदेखि सुस्ताएको र निकै तल झरिसक्दाको यस अवस्थामा बजारी हल्लाको भरमा मात्र सेयर खरिद विक्री गर्ने अनि छिटो छिटो सामान्य आम्दानीमा नै रमाउने भन्दा पनि लामा समयसम्मका लागि लगानी गर्न हाल बजारमा थुप्रै राम्रा कम्पनीहरु निकै कम मूल्यमा उपलब्ध छन । जसले भविष्यमा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्छन । बजारमा भएका थुप्रै कम्पनीहरु मध्यबाट मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी, कम्पनीको बार्षिक प्रगति र सो क्षेत्रको भविष्य, कम्पनीसँग आवद्ध सञ्चालकहरु र तिनको कम्पनीप्रतिको इमान्दारिताको लेखाजोखा जस्ता थुप्रै विषयहरुको राम्रो अध्ययन गर्दै लामो समयका लागि कम्तिमा सन् २०२३ सम्ममा कम्पनीले दिएको नगद वा बोनश प्रतिफल खाएर धानिन्छु भन्ने सोचले लामो समयका लागि लगानी गर्ने उपयुक्त अबसर भने हो अहिले ।

सम्बन्धित समाचार