काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड सेबोनका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर बजारलाई नयाँ उचाईमा पुर्याउने बताएका छन् । काठमाण्डौमा आयोजित स्टक ब्रोकर एशोसियसनको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले सेयरबजारका सम्पूर्ण गलत क्रियाकलापलाई रोकेर नयाँ उचाईमा पुर्याउने बताएका हुन् । साथै, उनले ब्रोकरमार्फत मार्जिन ट्रेडिङलाई समेत अगाडि बढाउने बताए । मेरो कार्यकालमा सेयरबजार सम्बन्धी सम्पूर्ण चूनौतीहरुलाई समाधान गर्ने प्रयास गर्नेछु । बजारमा देखिएका इन्साइडर ट्रेडिङ जस्ता गलत कार्यलाई निगरानीमा राखेर बजारलाई स्वस्थ्य बनाउने प्रयास गर्नेछु, उनले भने, ब्रोकरहाउसमार्फत मार्जिन ट्रेडिङलाई समेत अगाडी बढाउने जमर्को गर्नेछु । यस्तै, ब्रोकर हाउसहरुले पनि सर्वसाधारणको हितको लागि काम गर्नुपर्ने र सर्वसाधारणलाई सहज गराउनुपर्ने उनले जोड दिए । बजारलाई नयाँ उचाइमा पुर्याउन ब्रोकर हाउसले पनि अहम् भूमिका निर्वाह गर्र्न र सर्वसाधारणको हितमा काम गर्न उनले ब्रोकर कम्पनीलाई आग्रह गरे । उक्त कार्यक्रममा स्टक ब्रोकर एसोशियसनका पूर्वअध्यक्ष भरत रानाभाटले धितोपत्र ऐन संशोधन हुनुपर्ने अनुरोध गरेका छन् । त्यस्तै, उनले स्टक ब्रोकर संघको उचाई समेत बढाउन अनुरोध गरेका छन् । साथै, उनले पछिल्लो समय ब्रोकरले पैसा तिर्न नसकेको र सेटलमेन्ट हुन नसकेको जस्तो समस्या नरहेको बताए । धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा रोकिएका सबै काम द्रुत गतिमा अघि बढाउन समेत उनले नवनियुक्त अध्यक्षलाई आग्रह गरे । त्यस्तै, संघका निर्वतमान अध्यक्ष सन्तोष मैनालीले ब्रोकर कमिशन नघटाउन धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई आग्रह गरेका छन् । साथै उनले आफ्नै ब्रोकरबाट पनि सेयर किन्न पाउनुपर्ने कुराको माग राखेका छन् । उनले सबै ब्रोकर कम्पनीहरु डिजिटल रुपमा अघि बढ्नुपर्ने धारणा ब्यक्त गरे । ब्रोकरभित्र उधारो काम हुनुहुँदैन, यसले ब्रोकरसँगै लगानीकर्ता र सिँगो पुँजीबजारलाई नै चलायमान बनाउन सक्दैन उनले भने, ब्रोकर कम्पनीहरु अब डिजिटल रुपमा अघि बढेर आगामी असार मसान्तभित्र सबै ब्रोकरले पुँजी बढाउन आवश्यक छ ।