free website hit counter

स्टयान्डर्ड चार्टर्डको न्यून प्रतिफलले निम्त्याएको प्रश्न

beemaadmin
२०७७ कार्तिक १५, शनिबार

नेपाली सेयर बजारमा अधिल्लो बर्षको मुनाफाबाट बैंकहरूले लगानीकर्ताको अपेक्षाभन्दा बढी प्रतिफल वितरण गर्न थाले पश्चात् बजारमा बैंक वित्तीय सस्थाहरूको सेयरको मूल्य केहीदिनदेखि उकालो लाग्ने क्रम जारी छ । कोरोनाका कारण बैंक वित्तीय सस्थाहरूको नाफा अघिल्लो आर्थिक बर्षको अन्तिम तिन महिना नराम्ररी प्रभावित बनेको भए तापनि बाँकी नौ महिनाको आम्दानी सहज भएकोले आर्थिक बर्ष ०७६–७७ को मुनाफा राम्रै देखिएको हो ।

कोभिड १९ को प्रकोप अझै बाँकी भएको अवस्थामा नेपालमा सञ्चालित बैंक वित्तीय सस्थाको कारोबार त्यति राम्रो अवस्थामा नहुनुलाई स्वभाविक मान्न सकिन्छ । तर अधिल्लो बर्षको मुनाफाबाट लगानीकर्तालाई दिने प्रतिफल उच्च देखिएको र हाल बैंक वित्तीय सस्थाहरूले निक्षेपमा दिने व्याजदर निकै घटेको अवस्थामा लगानीकर्ताहरूको आकर्षण नेपाली सेयर बजारमा ठूलो हिस्सा ओगटेको बैंक वित्तीय सस्थाहरूमा बढेको र त्यसले सो समूहको सेयरको मूल्य समेत बढाएको अवस्था हो अहिले ।

कोभिडका कारण कुन बैंक वित्तीय सस्थाको लगानी कुन कुन क्षेत्रमा कति छ र भएको कर्जा लगानीमा कति प्रतिशत जोखिम छ भन्ने कुराका आकलन सहजै गर्न सकिने अवस्था देखिदैन । सरसर्ती हेर्दा नेपाली पर्यटन क्षेत्र, यातायात व्यवसाय जस्ता ठूलो कर्जा लगानी भएको क्षेत्र कोभिडका कारण नराम्ररी थलिएको छ । यस्तो अवस्थामा हाल बैंक वित्तीय सस्थाहरूले निक्षेप र कर्जा लगानी बढाएको समाचारहरू आइरहे तापनि सस्थाहरूको कर्जा लगानीमा जोखिम कत्तिको बढने हो त्यो भने आगामी दिनमा हेर्न बाँकी नै छ ।

नेपालमा सञ्चालित थुप्रै बैंकहरूले बोनस तथा नगद लाभांश गरी राम्रो प्रतिफल दिने निर्णयहरू पस्कदै गर्दा नेपालमा सञ्चालित विदेशी लगानीको बैंक स्टयान्डर्ड चार्टर्ड बैंकले भने लगानीकर्तालाई निराश बनाउने खालको प्रतिफल दिने निर्णय गरेको छ । नेपाली सेयर बजारमा निकै ख्याती कमाएको र विगतमा उच्च प्रतिफल दिने बैैकको रुपमा कहलिएको चार्टरले अधिल्लो बर्षको मुनाफाबाट सात प्रतिशत बोनस सेयर तथा ४.८४ प्रतिशत नगद लाभांश मात्र दिने निर्णय सार्वजनिक गरेको छ ।

करिब १७ प्रतिशतसम्म मुनाफा वितरण गर्न सक्ने क्षमता देखिए तापनि बैंकले ठूलो रकम रिजर्भमा राखेको कारण कम लाभांश दिने निर्णय गरेको हो । नेपालमा विदेशी लगानीमा सञ्चालित बैंकहरूमा स्टयाडण्र्ड चार्टर तथा एसबीआई जस्ता बैंकहरूले जोखिम व्यवस्थापनलाई निकै महत्वदिने भएकोले पनि यस्तो निर्णय आएको हुनसक्छ तर लगानीकर्तालाई अप्रिय लाग्ने निर्णय भए तापनि बैंकले आफ्नो कारोबार र जोखिम व्यवस्थापनलाई उल्लेख्य महत्व दिएको कारण यस्तो निर्णय आएको हो ।

बढी लाभांश घोषणा गर्दै बजारमा सेयरको मूल्य घटन नदिनुलाई मात्र महत्वदिनुको सट्टा बैंकले कोभिडका कारण सिर्जना हुनसक्ने खतरालाई समेत ध्यानमा राख्दै कम प्रतिशत लाभांश घोषणाले सेयर बजारमा भने बैंक वित्तीय सस्थाका बढ्दो सेयरको मूल्यमा आगामी दिन ब्रेक लाग्न सक्ने सम्भावना बढेको छ ।

चार्टरको नाफामा गत वर्ष १७.७६ प्रतिशतले कमी आएर एक अर्ब ९८ करोड ३९ लाख २६ हजार रुपियाँमा झरेको थियो । कम प्रतिशत मात्र बोनस सेयर घोषणा हुनुले चार्टरले विगतका दिनदिनदेखि नै बोनस सेयर मार्फत चुक्ता पुँजी बढाउने रणनीति लिन नचाहेको यसपालिपनि स्पस्ट हुन आएको छ । विदेशी लगानीनको यस बैंकले नगद लाभांशलाई नै जोड दिदै आएको सन्दर्भ र यस बर्ष नेपाल राष्ट्र र्बैकले ल्याएको नयाँ निर्देशनमा नगद लाभांशलाई खासै महत्व नदिएको सन्दर्भले गर्दा पनि चार्टरले लगानीकर्तालाई दिन सक्ने अवस्थाको उच्च प्रतिफल दिन नचाहेको हुन सक्छ ।

चार्टर बैंक नेपाली सेयर बजारमा कुनै समय निकै चर्को मूल्य मात्र होइन उच्च प्रतिफलका कारण चर्चामा रहने बैंक भएको र सरकारको नीति नियम र नियमनकारी निकाय नेपाल राष्ट्र बैंकका कतिपय निर्देशनहरू उपर पनि असन्तुष्टि देखाउन नडराउने बैंक भएको कारण यसले घोषणा गरेको लाभांशको न्यून प्रतिशतको निर्णयलाई आइतबार खुल्ने सेयर बजारमा लगानीकर्ताको बैंक वित्तीय सस्थाको सेयर प्रतिको मनस्थिति कस्तो रहन्छ र बजार कसरी प्रतिकृया दिन्छ सो भने महत्वपूर्ण देखिएको छ ।

सम्बन्धित समाचार