free website hit counter

स्थानीय मेला र प्रर्दशनीमा कृषिको महत्व

beemaadmin
२०७८ कार्तिक ३, बुधबार
नेपाल एक कृषि प्रधान देश हो र यहा गरिने कृषि उत्पादनले बजार नपाउदा कृषि उपजहरू उपभोक्ता सम्म पुग्न सकेका छैनन्। जसका कारण किसानहरूले आफ्ना उत्पादनको सही मूल्य पाउन सकेका छैनन्। यस्तो परिस्थितिमा किसान र उपभोक्ता बीचमा खेल्ने बिचौलियाहरूले बिना लगानी अनाबश्यक मुनाफा लिने गरेका छन्।
यस्ता बिचौलियाका कारण उपभोक्ताले तिरेको मूल्यको न्यून अंश मात्र किसानले पाउने र उपभोक्ताले महंगी भोग्नु पर्ने परिस्थिति बलियो बन्दै गएको छ। यसरी स्थानीय तहमा हाट बजार, मेला पर्वको ब्यबस्था हुन सकेमा किसानका उत्पादन सोझै उपभोक्ता समक्ष पुग्न पाउने र बीचमा बिचौलियाले खेल्ने मौका नपाउने स्थिति बन्ने देखिन्छ। केही दशक अगाडिको अवस्था हेर्ने हो भने स्थानीय तहमा यस किसिमका हाट बजार र मेला पातको ब्यबस्था प्रभावकारी हुने गरेको पाईन्थ्यो।
बिभिन्न बारको नाममा हाटहरू लाग्दथे, बिभिन्न पर्वहरूलाई लक्षित गरी हप्तौ सम्म बजार लागेको सम्झन सकिन्छ। आजभोली पनि स्थानीय उद्योग बाणिज्य संघ, स्थानीय चेम्बर अफ कमर्सको आयोजनामा यस्ता मेला पर्वहरू लगाईन्छ तर यस्ता पर्वहरू प्राय: जिल्ला सदरमुकाममा केन्द्रित हुने र ग्रामीण भेकका उत्पादन भन्दा जिल्लाका ब्यापारी कै कम गुण स्तरका सामान बिक्री गर्ने स्थानको रूपमा परिणत हुदैछन्। अहिले नेपाल संघीय शासन ब्यबस्थामा गै सकेको छ र स्थानीय तहहरू आफै निर्णायक भै सकेका छन्, अधिकांश स्थानीय निकायहरू सडक सन्जाल संग जोडिएका पनि छन् ।
त्यसैले स्थानीय निकायको समन्वयमा हाम्रा अधिकांश स्थानमा हाट बजार र मेलापातको ब्यबस्था मिलाएर किसानका उत्पादनहरूलाई सोझै उपभोक्ता समक्ष लैजान सकिन्छ। यसो गर्न सकेमा बिचौलियाको खेल सकिन्छ र किसान सोझै उपभोक्ता समक्ष पुग्न सक्छन्, उपभोक्ताले पनि सस्तोमा ताजा सामान पाउन सक्छन्। स्थानीय निकायले हाट बजार ब्यबस्थापनका लागि आवश्यक संरचना बनाएर सो मार्फत काम गर्नु गराउनु पर्ने हुन्छ। खासगरी कृषि जन्य बस्तुहरू उत्पादन हुने समय पारेर हाट बजार लाग्ने अबधी तोकेर प्रचार प्रसार गर्नु पर्छ। बजार सम्म जान आउन यातायातको ब्यस्थापन गर्नु पर्ने हुन्छ।
बजारमा स्थानीय कृषि उपजहरू, कृषिमा प्रयोग हुने मल,बीऊ, औजारहरू, स्थानीय खाना र परिकारहरू, मनोरन्जनका साधनहरू, बालबालिकाका लागि खेल्ने साधनहरू, प्राथमिक स्वास्थ्य सामाग्रीहरू,घरेलु तथा हाते उद्यमबाट उत्पादित सामाग्रीहरू राख्ने ब्यबस्था मिलाउनु पर्छ। यी यबैका अतिरिक्त स्वच्छ खानेपानी र उचीत शौचालयको ब्यबस्था समेत यस्ता हाट बजारमा मिलाउन सक्नु पर्छ।
तर आजभोली समस्या स्थानीय बजारको भन्दा पनि सो बजारमा राखिने सामानको उत्पादनमा देखिन थालेको छ।युवाहरूमा परम्परागत कृषि प्रणाली प्रति अभिरूची कम हुदै छ, यूवाहरूमा विदेश प्रति मोह बढ्दो छ, सरकार संग यूवा लक्षित कार्यक्रम केही छैन, बेरोजगारी बढ्दै छ तर खेत वारी बांझिदै गएका छन्। यी र यस्ता थुप्रै कारणहरूले हाम्रो कृषि उत्पादनमा क्रमश: ह्रास आउदै छ।
विश्वमा देखिएको जलवायु परिवर्तनबाट नेपालको कृषि प्रणाली पनि अछुतो छैन। अहिले किसानले धान थन्क्याउने बेलामा झरी परेर धानका निहीनहरू डुवेका छन्। यस्ता मानवीय र प्राकृतिक कारणहरूले देशको कृषि अवस्थामा प्रतिकूल अशर पर्नाले किसान र उपभोक्ताहरू मर्कामा परेको अवस्था छ। यस्तो परिस्थितिमा सरकारले किसान र उपभोक्ताको हितलाई ध्यानमा राखेर आबश्यक नीति अबलम्बन गर्न जरूरी हुन्छ।उद्योग धन्दाको लागि त्यति अनुकूलता भै नसकेको बर्तमान अबस्थामा सरकारको लगानी कृषि क्षेत्र मै केन्द्रित गर्नु जरूरी देखिन्छ। परम्परागत कृषि प्रणालीलाई बिस्थापन गर्दै कृषि क्षेत्रलाई उद्यमको रूपमा लग्नु पर्ने देखिन्छ।
अन्नबालीको साथै नगदे बाली पशु जन्य उत्पादनलाई प्राथमिकता दिनु पर्ने देखिन्छ। किसानलाई आवश्यक पर्ने मल बीऊ सर्ब सुलभ बनाउनु पर्ने देखिन्छ। सीमामा नियन्त्रण गरी कृषि उपजको अवैध पैठारी रोक लगाउन सरकार र स्थानीय निकाय कृयाशील हुनु जरूरी देखिन्छ। यसरी कृषि क्षेत्रलाई केन्द्रित गरेर लगानी गरी यूवालाई यो क्षेत्रमा प्रयोग गरेर स्थानीय उत्पादन बढाउन सके स्थानीय हाट बजार र मेला पर्वमा हुने ब्यबसाय किसान र उपभोक्ताको हितमा हुने कुरामा कुनै शंका छैन।

सम्बन्धित समाचार