काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले मस्यौदाका रूपमा सार्वजनिक गरेको ‘बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्री सम्बन्धि निर्देशन, २०८१’ लाई औपचारिकता प्रदान गरेको छ। प्राधिकरण सञ्चालक समितिबाट पौष २४ गते नै स्वीकृत ११ पृष्ठ लामो निर्देशन सोमबार आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो। निर्देशनमा बीमकले खरिद गर्ने घर, जग्गा वा घरजग्गालाई प्रयोजनका आधारमा तीन वर्गमा विभाजन गरिएको छ। कार्यालय प्रयोजन, व्यवसायी प्रयोजन र दुबै प्रयोजन गरी तीन वर्गमा विभाजन गरिएको हो। घर निर्माण गर्दा एक आर्थिक वर्षमा कुनै परियोजनामा कुनै एक परियोजनामा कुल नेटवर्थको दुई प्रतिशतभन्दा कम निर्माण लागत भएमा प्राधिकरणको पूर्व स्वीकृति लिनुपर्नेछैन। निर्देशनमा भएको व्यवस्था अनुसार, घरजग्गा बिक्री गर्नुपर्ने भएमा बिक्री मूल्य नेटवर्थको २ प्रतिशतभन्दा बढी भएको अवस्थामा बिक्रीका लागि समेत प्राधिकरणबाट बीमकले पुनः स्वीकृति लिनुपर्नेछ। निर्देशनको प्रावधान अनुसार, बीमकले कार्यालय तथा व्यवसायीक प्रयोजनका लागि घरजग्गा खरिद वा निर्माण गर्दा प्राधिकरणबाट अनिवार्यरूपमा सैद्धान्तिक स्वीकृति लिनुपर्नेछ। यस्तो स्वीकृति लिंदा कार्यालय प्रयोजनका लागि प्रयोग हुने हिस्साको लागत र व्यवसायीक प्रयोजनका लागि प्रयोग हुने हिस्साको लागत र प्रतिशत समेत खुलाउनुपर्नेछ। व्यवसायीक प्रयोजनका लागि घर जग्गा खरिद वा निर्माण गर्दा बीमकको लगानी निर्देशन बमोजिम प्राधिकरणले स्वीकृति प्रदान गर्नेछ। खरिद निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्राप्त गरेको चार महिना भित्र खरिद वा बिक्री प्रकृया अघि बढेको प्रमाणा पेश गर्न नसकेमा स्वीकृति स्वतः रद्द हुनेछ। खरिद प्रकृया अघि बढि सकेपछि बीमकले पुनः अन्तिम स्वीकृति लिनुपर्नेछ। अन्तिम स्वीकृति प्राप्त गरेको दुई महिनाभित्र खरिद प्रकृया सम्पन्न नभएमा अन्तिम स्वीकृत स्वतः रद्द हुने व्यवस्था निर्देशनमा गरिएको छ। बीमकले नेटवर्थको ३० प्रतिशत सीमाभित्र रही घरजग्गा खरिद गर्नुपर्नेछ। बीमकले कार्यालय प्रयोजनका लागि स्थिर सम्पत्ति खरिद तथा निर्माण गर्दा हालसम्म खरिद गरेको स्थिर सम्पत्तिको ह्रासकट्टीपछि हुन आउने मूल्य (खुद मूल्य) र खरिद गर्न बीमा प्राधिकरणसँग स्वीकृति माग गरेको स्थिर सम्पत्तिको लागतको योगफल तोकिएबमोजिम गणना गरिएको नेटवर्थको ३० प्रतिशतको सीमाभित्र रहनुपर्ने प्रावधान गरिएको छ। बीमकले घर जग्गा बिक्री भएको मितिले १५ दिनभित्र प्राधिकरणलाई बिक्रीको शर्त, बिक्री मूल्य र खरिदकर्ताको विवरण सहित जानकारी दिनुपर्नेछ। खरिद तथा बिक्री सम्बन्धी व्यवस्थाका लागि बीमकले आफ्नो खरिद तथा आर्थिक प्रशासन नियमावलीमा स्थिर सम्पत्ती खरिद तथा बिक्रीसँग सम्बन्धित नियन्त्रण प्रणालीलाई सुदृढ बनाउनुपर्नेछ। बीमकको खरिद तथा आर्थिक प्रशासन नियामावली कम्तीमा एक आर्थिक वर्षमा एक पटक स्थिर सम्पत्तीको भौतिक परिक्षण गर्नुपर्ने व्यवस्था हुनुपर्नेछ।