काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले कात्तिक ११ गतेदेखि खुला गरेको आईपीओमा अब स्थानीय बासिन्दाले मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन्।
यद्यपि, मागभन्दा बढी आवेदन परेमा तोकिएको मितिअगावै सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री बन्द गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १६ करोड ९० लाख रुपैयाँबराबरको १६ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिएको हो।
निष्काशित सेयरमध्ये १० लाख १४ हजार कित्ता आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। यो सेयर दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नम्बर २, ३ र ४ का स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ६ लाख ७६ हजार कित्ता ती दुई गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दालाई वितरण गरिनेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
हिम पर्वत हाइड्रोपावरले २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ छ।
आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि २८ वर्ष बाँकी रहेको छ। यसको साधारण लगानी फिर्ता हुने अवधि ६.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.०८ वर्ष रहेको छ। कम्पनीले यस आयोजनाबाट २०८२ असोज २५ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ।
त्यस्तै, कम्पनीले ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत आयोजना पनि सञ्चालन गरिरहेको छ। यस आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ र प्रतिमेगावाट लागत २० करोड ९१ लाख ७३ हजार २८९ रुपैयाँ रहेको छ।
यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि पनि २८ वर्ष बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.५६ वर्ष रहेको छ। कम्पनीले २०८२ साउन ८ गतेदेखि यस आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन फाराम प्राप्त गर्न स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।