free website hit counter

हुँदै नभएको हत्यामा २१ वर्ष जेल, मरेको भनिएको मान्छे जिउँदै भेटिएपछि खुल्यो रहस्य

beemaadmin
२०७८ श्रावण १४, बिहीबार

एजेन्सी । निरअपराध मान्छे पनि बेलाबखत जेलमा जीवन बिताउन बाध्य हुन्छन् । हुँदै नभएको हत्याको आरोपमा २१ वर्षसम्म जेलमा राखिएका एक शिक्षक रिहा भएका छन् । उनले हत्या गरेको भनिएका मानिस २१ वर्षपछि जिउँदै भेटिएपछि ती शिक्षकलाई रिहा गरिएको हो । ती शिक्षकलाई मेक्सिकोको जेलमा राखिएको थियो । हालै उनले मारेको भनिएका व्यक्ति अमेरिकामा जीवितै भेटिएका थिए । द सनका अनुसार निर्दोष भएर पनि जेलमा राखिएका शिक्षक म्यानुएल भाल्दोभिनसले कानुनको कार्यान्वयनमा गम्भीर त्रुटि हुँदा पनि अझैसम्म मेक्सिकोका अधिकारीहरुले आफूसँग माफी नमागेको बताएका छन् । सन् २००० मा मेक्सिकोको टेक्सकोकोमा शिक्षक रहेका भाल्दोभिनसलाई म्यानुएल मार्टिनेज एलिजाल्देको हत्या आरोपमा पक्राउ गरिएको थियो । र, अधिकारीहरुले उनले अपराध स्वीकार गरेको बताएका थिए ।
भाल्दोभिनसलाई ४१ वर्षको जेल सजाय सुनाइएको थियो । २१ वर्षपछि उनले मारेको भनिएका पीडित अमेरिकामा जीवितै भेटिएपछि उनलाई गत हप्ता रिहा गरिएको हो । भाल्दोभिनसले सधैं आफू निर्दोष भएको र आफूलाई गर्दै नगरेको अपराध स्वीकार गर्नको लागि पुलिसले कुटपिट गरेको र यातना दिएको बताउँदै आएका थिए । स्थानीय रिपोर्टका अनुसार भाल्दोभिनसलाई पुलिसले पक्राउ गरेपछि एउटा गोदाममा सिक्रीले बाँधेर झण्ड्याएर कुटपिट, विजुलीको झट्का दिएको र चोट नदेखियोस् भनेर बरफ पानीको जारमा राखेको थियो । २००६ मा मेक्सिकोको एक अदालतले भाल्दोभिनसलाई दोषी ठहर गर्न अदालतमा पेश गरिएको शव एलिजाल्देको नभएको डिएनए रिपोर्टका आधारमा ठहर गरेको थियो । यी संगीत शिक्षकले आफू जेलमा रहँदा आफूले कानुनी सहायताको अभावमा स्वतन्त्रता खोसिएका अरु कैयौं मानिस पनि भेटेको बताएका छन् । केसको पुनरावलोकनपछि एक न्यायिक समितिले भाल्दोभिनसलाई तत्काल रिहा गर्न आदेश दिएको थियो । उनले गैरन्यायिक रुपमा थुनामा राखिएको विरुद्ध क्षतिपूर्तिको माग गर्छन् वा गर्दैनन् भन्ने स्पष्ट भएको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार