free website hit counter

होटल क्षेत्रका सेयरमा लगानी

beemaadmin
२०७६ पुष १९, शनिबार

नेपाल सरकारले बर्षभरिमा २० लाख पर्यटक मुलुकमा भित्राउने स्पस्ट लक्ष्यका साथ नेपाल भ्रमण बर्ष २०२० को औपचारिक सुरुवात गरिसक्दाको अवस्था हो अहिले । पर्यटकीय सम्भावना व्यापक भएको र यस क्षेत्रका उद्योगहरु फस्टाएको अवस्थामा पनि नेपाली सेयर बजारमा पर्यटन क्षेत्रका सस्थाहरुको उपस्थिति भने नगन्य रहको छ । होटल, ट्रेकिङ्ग, राफ्टिङ्ग लगायत थुप्रै विधाका निजी कम्पनीहरु मुलुकभर थुप्रै रहेको मात्र नभएर उच्च कारोबार गर्ने भए तापनि पब्लिक कम्पनीको रुपमा दर्ता भएर सर्वसाधारणको सेयर सहित सञ्चालित सस्थाहरु औलामा गन्न सकिने अवस्थामा छ ।

पर्यटकीय सम्भाबना बोकेको मुुलुकको सेयर बजारमा सो क्षेत्रका कम्पनीहरुको उपस्थिति बाक्लो हुन नसक्नुको कारण के हो ? त्यसमा बहस चल्नुपर्ने बेला आएको छ । सेयर बजारमा सूचीकृत होटल उपसमूहको अवस्था हेर्दा त्यसमा सोल्टी होटल लि, ओरियन्टल होटल्स लि, तारागाँउ रेजेन्सी होटल लि र याक एण्ड यती होटल लि रहेका छन । चार होटल सुचीकृत भए तापनि याक एण्ड यती होटलको कारोबार विरलै हुने गरेको छ । बजारमा बढी कारोबार हुने सोल्टी, तारागाँउ र ओरियन्टलले पनि लगानीकर्तालाई खासै आकर्षित गर्न सकेको देखिदैन ।

सुरुका दिनहरुमा सोल्टी होटलको प्रतिफल राम्रो हुने गरेको भए तापनि हाल बजार खस्किएको अवस्था भएर नै होला त्यसको आकर्षण पनि खासै छैन । ओरियन्टल होटलको त कैयन बर्षसम्म लगानीकर्तालाई कुनै प्रतिफल नै नदिएर वाक्क व्याक्क पारे पश्चात् सो कम्पनीका पुराना लगानीकर्ता जति धेरैले सेयर विक्री गरे पश्चात् सेयरको मूल्य बढाइएको गुनासो थुप्रै लगानीकर्ताको रहेको छ । त्यसैगरी तारागाँउ रिजेन्सी होटलमा पनि विभिन्न समयमा कहिले जग्गा विवाद, कहिले श्रमिक हडताल जस्ता विविध समस्या आइरहने हुनाले लगानीकर्ताको खासै आकर्षण छैन ।

सरकारले नेपाल भ्रमण बर्ष घोषणा गरेकै दिन नेप्सेमा सो उपसमूहको सेयरको कारोबार उच्च भएको र एकैदिन १६८ अङ्कले बढोत्तरी आएर उक्त उपसमूहको सूचकाङ्क एक हजार ९२० पुगेको थियो । तर उक्त बढोत्तरी दिगो हुन सकेन र दोस्रो दिन नै ७३ अङ्क घट्यो । नेपाली सेयर बजारमा होटल मात्र नभएर पर्यटन क्षेत्रकै अन्य विधाहरुको सस्थागत रुपमा सर्वसाधरणको समेत सेयर लगानीमा कम्पनीहरु ल्याउनु जरुरी देखिन्छ । पर्यटन क्षेत्रमा नाफा भएर नै त होला स्वदेशी मात्र नभएर विदेश लगानीमा समेत थुप्रै होटलहरु खुल्ने क्रम जारी छ । तर त्यस्तो नाफा सर्वसाधारणमा बाँडन व्यवसायी तयार देखिदैनन भने नियमनकारी निकायको अभाव र हरहिसाब पारदर्शी नभएको क्षेत्रमा लगानीकर्ता आकर्षित हुने अवस्था पनि देखिदैन ।

त्यसमा पनि यस क्षेत्रमा भएको लगानीकर्ताको लगानीको प्रतिफल खासै राम्रो नभएको विगतको अनुभबले लगानीकर्ता आकर्षित गर्न गा¥है देखिन्छ । नेपालको होटल क्षेत्रमा हाल ठूलो स्वदेशी तथा विदेशी लगानी भित्रिसकेको देखिन्छ । यस्तो परिस्थितिमा सरकारले बलियो नियमनकारी निकायको उपस्थिति गराएर पर्यटकीय कृयाकलापमा संलग्न कम्पनीहरुलाई सेयर बजारमा भित्राउने वातावरण निर्माण गर्नु जरुरी छ । लगानी कर्ताको सेयरको रकम मात्र नभएर बैंक तथा वित्तीय सस्थाहरुको कर्जा समेत प्रभावित भएको थुप्रै उदाहरणहरु विगतमा देखिनछ ।

सेयर बजारमा सुचीकृत नभएका तर बजारमा सूचीकृत बैंक वित्तीय सस्थाको नाफा प्रभावित पार्ने उदाहरण लिदा पोखराको ठूलो लगानीको फुलबारी रिसोर्टकै सन्दर्भ कोट्याउन सकिन्छ । सो होटल नचलेको र रुग्ण उद्योग भएको भन्दै ऋण मिनाहा गर्न पहल भएकै हो । जसमा नेपाल बैंक लगायतका बैंकहरुको ठूलो रकम खराब कर्जाको रुपमा फसेको छ । तसर्थ पर्यटकीय सम्भावना भएको मुुलुकमा पर्यटन क्षेत्रका विधिव सेवा उपलब्ध गराउने खालका कम्पनीहरुको सेयर बजारमा उपस्थिति गराउने सन्दर्भमा सबैभन्दा पहिले स्पस्ट व्यवसायिक खाका, सञ्चालकहरुको इमान्दारीता, बैंक वित्तीय सस्थाहरु र सर्वसाधारणहरुको समेत लगानीका कम्पनीहरु आगामी दिनमा आउनुपर्ने देखिन्छ । यस क्षेत्रमा अझ विदेशी लगानी र पर्यटकको आगामन समेत बढाउने हो भने गैरआवासीय नेपालको प्रत्यक्ष लगानी भित्राउने रणनीति हुनु जरुरी छ ।

जसले नेपालमा पर्यटकहरु पठाउन राम्रो योगदान समेत गर्न सक्ने देखिन्छ । तर गैरआवासीय नेपालीहरुको नेपालमा भएको त्यस्तो लगानीको सुरक्षा, उचित प्रतिफल आदिका लागि पनि बलियो नियमनकारी निकायको उपस्थिति जरुरी नै देखिन्छ ।

सेयर बजारमा सुचीकृत होटल उपसमूहका कम्पनीहरु र त्यसको सक्षिप्त विवरणहरु

सोल्टी होटल
सेयर पुँजी– ७३.२६ करोड – (प्रतिकित्ताको मूल्य दश रुपियाँ)
बजार मूल्य २०७६–०९–१७ गते – १९७ रुपियाँ
आर्थिक बर्ष ०७५–७६ को मुनाफाबाट बोनस सेयर १५ प्रतिशत
नगद लाभांस–११.३१ प्रतिशत
४५ औँ बार्षिक साधारण सभा– पुस २४ गते प्रज्ञा भवन कमलादी
खुद नाफा चालु आर्थिक बर्षको पहिलो त्रैमास– दुई करोड ९५ लाख
०७६–७७ को पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी १.६१
मूल्य आम्दानी अनुपात १२२.३६
किताबी मूल्य २२.६२

तारागाँउ रिजेन्सी होटल लि
सेयर पुँजी– एक अर्ब ८८ करोड
बजार मूल्य २०७६–०९–१७ गते – २८७ रुपियाँ
आर्थिक बर्ष ०७५–७६ को मुनाफाबाट नगद लाभांस– १२ प्रतिशत
खुद नाफा चालु आर्थिक बर्षको पहिलो त्रैमास– एक करोड ४६ लाख
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी –३.११
मूल्य आम्दानी अनुपात–९२.२८
किताबी मूल्य–१२९.१७

ओरियन्टल होटल्स लि
सेयर पुँजी– एक अर्ब सात करोड
बजार मूल्य २०७६–०९–१७ गते – ४७३ रुपियाँ
आर्थिक बर्ष ०७५–७६ को मुनाफाबाट बोनस सेयर –५ प्रतिशत
नगद लाभाशं– १०.९७ प्रतिशत
खुद नाफा चालु आर्थिक बर्षको पहिलो त्रैमास– करोड ३१ लाख
प्रतिसेयर आम्दानी – ४.८९ बार्षिक
मूल्य आम्दानी अनुपात–९६.७३ गुणा
किताबी मूल्य– २११.९१

सेयर बजारमा सुचीकृत तीनै होटल समूहको सेयरको चालु आर्थिक बर्षको प्रगति र लगानीको प्रतिफल हेर्दा राम्रो देखिदैन । किताबी मूल्यभन्दा बजार मूल्य उच्च रहेको छ । त्यसैगरी प्रतिसेयर आम्दानी खासै उत्साहजनक देखिदैन । त्यसरी नै मूल्य आम्दानी अनुपात पनि २५ गुणासम्मलाई राम्रो मानिदै आएको सन्दर्भमा उच्च रहेको देखिएकोले यस क्षेत्रको सेयरमा लगानीकर्ताको आकर्षण कायमै रहने आधारहरु थोरै देखिन्छन् ।

सम्बन्धित समाचार