काठमाडौं । मौद्रिक नीतिपछि लगातार घट्न थालेको नेप्स सूचक पाँच कारोबार दिनमा नै १२६.८१ अंकले घटेको छ। मौद्रिक नीतिको भोलिपल्टदेखि नै घट्न थालेको नेप्से आइतबार पनि उच्च अंकले घटेर बन्द भएको छ। आइतबार नेप्से सूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा झरेको छ। यस दिन २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँ बराबरको ६८ लाख ६० हजार ४२ कित्ता शेयर कारोबार भएको छ। २२०० विन्दुमाथि पुगेको नेप्से सूचक पछिल्लो पाँच दिनदेखि लगातार घट्दो क्रममा छ। आइतबार नेप्से सूचकले २१०० को सपोर्ट परिक्षण गरेको छ। कारोबार समयमा २१०० तल झरेको भए पनि अन्तिममा भने २१०० विन्दु माथि नै बन्द भएको छ। यस दिन कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्ड बाहेक १२ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.३२ प्रतिशतले घटेको छ। यस दिन कारोबारमा आएका १८ वटा कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । जसमा पिपुल्स पावरको शेयरमूल्य सबैभन्दा धेरै ३.५६ प्रतिशतले बढेको छ भने सुपर माइ हाइड्रोपावरको ३।०६ प्रतिशत र सिनर्जी पावरको १.८० प्रतिशतले बढेको छ। यता मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.७८ प्रतिशतले घटेको छ भने अभियान लघुवित्तको ६.५७ प्रतिशत र हिमालयन लघुवित्तको ५.१४ प्रतिशतले घटेको छ। यस दिन शिवम् सिमेन्टको सबैभन्दा धेरै १४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टी होटलको ११ करोड ९९ लाख, एभरेष्ट बैंकको १० करोड २० लाख र हिमालयन डिस्टिलरीको ६ करोड रुपैयाँको शेयर कारोबार भएको छ।