free website hit counter

१५ दिनभित्र कोरोना बीमाको दाबी भुक्तानी, पाँच हजारले पाए बीमा रकम

beemaadmin
२०७७ मंसिर १६, मंगलवार

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीमा देखिएको समस्या क्रमशः समाधान हुँदै गएको छ । हालसम्म झण्डै पाँच हजार जनाले कोरोना बीमा बापतको दावी भुक्तानी पाएका छन् । बीमा समितिले दावी भुक्तानीको लागि सम्पूर्ण कागजात पेश गरेको ७ दिनभित्र दावी भुक्तानी गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएसँगै कोरोना बीमाको दावी भुक्तानीमा बृद्धि भएको पाइएको छ ।

पछिल्लो तथ्यांक अनुसार कोरोना बीमाको दावी भुक्तानी गरिएको रकम ४७ करोड नाघेको छ । हालसम्म ५० हजार रुपैयाँको कोराना बीमा पोलिसीको दावी भुक्तानी एक करोड ५१ लाख रुपैयाँ दावी भुक्तानी भएको छ । त्यस्तै, एक लाख रुपैयाँको बीमा पोलिसीको ४६ करोड २६ लाख रुपैयाँ दावी भुक्तानी गरिएको छ । कूल दावी भुक्तानी ४७ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

बीमा समितिका अनुसार हालसम्म चार हजार ९२८ जनाले दावी भुक्तानी बुझेका छन् । सुरुमा केही अलमल भएको कोरोना बीमाको दावी भुक्तानी पछिल्लो पटक सम्पूर्ण कागजात बुझाएको १२ देखि १५ दिनभित्र भुक्तानी दिने व्यवस्था मिलाइएको छ । ७ दिनभित्र दावी भुक्तानी गर्ने भनिए पनि व्यवहारिक रुपमा मिलाउन १२ दिनको कार्यसीमा तोकिएको छ । बीमा कम्पनीले सम्पूर्ण कागजात पाएको ७ दिनभित्रमा बीमा पुलमा पठाउने, बीमा पुलले ७ दिनभित्रमा प्रमाणिकरण सिध्याएर सम्बन्धित कम्पनीमा पठाउने र सम्बन्धित कम्पनीले २ दिनभित्रमा बीमितलाई बोलाएर डिस्चार्ज भौचरमा हस्ताक्षर गराउने कार्यतालिका बीमक संघले बनाएको छ ।

पछिल्लो समय दैनिक ३०० देखि ५०० जनासम्मको दावी भुक्तानी भइरहेको संघले जनाएको छ । अधिकांश बीमितको कागजात आउन ढिलाई भएका कारण दावी भुक्तानी रोकिएको बीमक संघले जनाएको छ । यद्यपि बीमितहरुले महिनौंसम्म पनि कोरोना बीमाको दावी भुक्तानी नपाएको गुनासो गर्दै आएका छन् ।

तथ्याङ्क अनुसार दुई अर्ब ७० करोड ३२ लाख ५० रुपैयाँ कोरोना बीमाको दावी भुक्तानी बक्यौता रहेको छ । उक्त तथ्याङ्क अनुसार हालसम्म २७ हजार ८५५ जनाले कोरोना बीमाको दावी भुक्तानी लिन बाँकी छ ।

सम्बन्धित समाचार