free website hit counter

१८ हजारको उपचार गर्ने अमेरिकी अस्पतालको बोर्डमा नेपाली युवा

beemaadmin
२०७६ पुष २५, शुक्रबार

न्यूयोर्क । संसारका प्रत्येक कुरामा पुगेका नेपालीहरु त्यहाँको सर्वोच्च ओहोनामा पनि पुगेका छन् । नेपाली मूलका युवा माधव गुरुङ अमेरिकाको न्यूह्यामसर राज्यको सबैभन्दा ठूलो शहर म्यान्चेष्टरस्थित एमोस्केग हेल्थ सेन्टरको सञ्चालक समिति सदस्यमा मनोनित भएका छन् । गुरुङलाई गत मंगलबार बसेको बोर्ड समिति बैठकले मनोनित गरेको हो । करिव २० मिलियन डलर बार्षिक बजेट रहेको एमोस्केग अमेरिकी संघीय सरकारबाट मान्यताप्राप्त राज्यकै ठूलो सामुदायीक स्वास्थ्य केन्द्र हो ।
राज्यको मुख्य सहरी केन्द्र म्यान्चेष्टरको चार स्थानबाट १८ हजार बढिलाई सेन्टरले स्वास्थ्य सेवा दिइरहेको छ । सन् १९८१ मा अमेरिकी डाक्टर सेल्मा डेइचले चाइल्ड हेल्थ सर्भिसको नामबाट उक्त केन्द्रको सुरुवात गरेकी थिइन् । उनको उदेश्य स्वास्थ्य बीमा सुविधा विहिन एवं विपन्नताका कारण स्वास्थ्य सुविधाबाट बञ्चितहरुलाई सेवा प्रवाह गराउनु थियो ।
सन् १९९३ मा राज्यका प्रमुख अस्पतालहरु एलिएट हस्पिटल र क्याथोलिक मेडिकल सेन्टरको सहयोग एवं स्थानीय अन्य दाता र डा. डेइचकै संलग्नतामा म्यानेचेष्टर कम्युनिटी हेल्थसेन्टरको नाममा विस्तार गरिएको थियो । सोही नामलाई गतबर्ष परिवर्तन गरि एमोस्केग हेल्थ सेन्टर बनाइएको हो । सेन्टरले स्वास्थ्य बीमा नभएका एवं न्यून आय भएका व्यक्ति एवं परिवारलाई निशुल्क स्वास्थ्य सेवा दिने गरेको छ ।
केन्द्रबाट स्वास्थ्य सेवा लिनेमा २५ प्रतिशत स्वास्थ्य बीमा बिहिन, सात प्रतिशत मेडिकेयर सुविधा भएका, ४५ प्रतिशत मेडिकेड एवं २५ प्रतिशत निजी क्षेत्रको स्वास्थ्यबीमा भएका सेवाग्राही छन् । केन्द्रमा कुल सेवाग्राही १८ हजार हाराहारी रहेका छन् भने त्यसमध्ये ४० प्रतिशत हाराहारी बालबालीका रहेको केन्द्रको तथ्यांक छ । केन्द्रमा ८६ प्रतिशत सेवाग्राही मेनेचेष्टर एवं आसपास निवासी छन् भने १४ देशबाट आएका आप्रबासी सेवाग्राहीहरु राज्यको अन्य भागमा बसोबास गर्ने गरेका छन् ।
केन्द्रले प्राथमिक स्वास्थ्य सेवा, बिशेषज्ञ सेवा, प्यारेण्टल केयर, क्रोनिक डिजिज केयर, बिहेवियरल हेल्थ सर्भिस, प्रेभेन्टिभ केयरलगायतका स्वास्थ्य सेवाका अलवा न्यूनआय भएका व्यक्ति एवं परिवारलाई कानूनी सेवा, खाना, यातायात लगायतका सुविधा पनि प्रदान गर्दै आएको छ । केन्द्रको सिफारिसमा राज्यका ठूला अस्पतालहरु एलिएट, क्याथोलिक मेडिकल सेन्टर, डार्टमाउथ हिचककले निःशुल्क स्वास्थ्य उपचार गर्ने गरेका छन् ।

सम्बन्धित समाचार