काठमाडौं । झुट्टा तथा नक्कली विजकविक्री गरी राजस्व छलि गरेको अभियोगमा काठमाडौ जिल्ला कामनपा–१२ को एएस हार्डवेयरका प्रोपाईटर सरला श्रेष्ठ समेत ७ जना उपर राजस्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले रु. २२ करोड २६ लाख ९ सय ४५ विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रतिवादी सरला श्रेष्ठको आफ्नो नाउँमा दर्ता भएको एएस हार्डवेयरबाट वस्तु वा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली कर विजक मात्र खरिद विक्री गरेको देखिएको । अन्य प्रतिवादीहरु अनंगपाल श्रेष्ठ र घनश्याम पोखरेलले फर्मको तर्फबाट गरिएको राजस्व चुहावटको कार्यमा प्रत्यक्ष रुपमा संलग्न भई नक्कली विल खरिद बिक्री गर्ने, नक्कली बिल बिजक तयारी तथा ओसारपसार, फर्मकाबैंक खाता तथा कारोवार व्यवस्थापन समेत गरी प्रतिवादीहरुको राजश्व चुहावट कसूरमा प्रत्यक्ष सम्लग्नता रहेको देखिएको छ ।
प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरी मुअकर तर्फ रु. ६८९३०८७९।– र आयकर तर्फ रु. १५३६७००६६।– समेत गरी राजस्व चुहावट ऐन, २०५२ को दफा २(छ१) बमोजिम हुने विगो बाईस करोड छब्बिस लाख नौं सय पैचालीस रुपैयाँ राजस्व चुहावट गरेकोले प्रतिवादी सरला श्रेष्ठ, अनंगपाल श्रेष्ठ, घनश्याम पोखरेललाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट ऐनको दफा २३ को उपदफा (१) र (३) वमोजिम विगो रकम रु. २२,२६,००,९४५।– असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन र मुख्य कसूरदारलाई राजस्व चुहावटको कसूरमा सहयोग पुर्याएकोले प्रतिवादीहरु किशोरप्रसाद पुडासैनी,चेतना पुडासैनी, उमेशकुमार भट्टराई र शालिकराम गौतमले राजस्व चुहावट गरेको ठहर गर्दै काठमाण्डौ जिल्ला अदालतमा मिति भदौ २५ गते मुद्दा दर्ता गरिएको छ ।