free website hit counter

२४ करोड घाटामा प्रभु बैंक, खराब कर्जा बढ्दाे

beemaadmin
२०८३ श्रावण २९, शुक्रबार

काठमाडौं । प्रभु बैंक लिमिटेड गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा गएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंक घाटामा गए पनि खुद ब्याज आम्दानीमा भने उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ९ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ७ अर्ब १९ करोड रुपैयाँ रहेको थियो।

तर, बैंकको खुद सञ्चालन आम्दानी घटेको छ। अघिल्लो आर्थिक वर्षमा ८ अर्ब १६ करोड रुपैयाँ रहेको खुद सञ्चालन आम्दानी गत आर्थिक वर्षमा घटेर ७ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ। सञ्चालन मुनाफा पनि १ अर्ब ८५ करोड रुपैयाँबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ।

खराब कर्जा दोब्बरभन्दा बढी

बैंकको वित्तीय अवस्थाको प्रमुख चुनौतीका रूपमा खराब कर्जा बढ्नु देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ७.०१ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आर्थिक वर्षमा बढेर १५.५५ प्रतिशत पुगेको छ।

बैंकको २३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। रिटेन्ड अर्निङ ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक रहेको छ भने वितरणयोग्य मुनाफा पनि ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक रहेको छ।

यसबीच बैंकको रिजर्भ कोष भने १२.९८ प्रतिशतले बढेर १५ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

निक्षेप बढ्दा कर्जा प्रवाह घट्यो

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन सामान्य बढेको छ। अघिल्लो आर्थिक वर्षमा ३ खर्ब ४२ करोड रुपैयाँ रहेको निक्षेप बढेर गत आर्थिक वर्षमा ३ खर्ब ४८ करोड रुपैयाँ पुगेको छ।

तर, कर्जा प्रवाह भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा २ खर्ब २५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह गत आर्थिक वर्षमा घटेर २ खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २ पैसा ऋणात्मक रहेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ९२ पैसा र तरलता अनुपात ४३.२२ प्रतिशत कायम भएको छ।

सम्बन्धित समाचार