free website hit counter

२८ दिनमा ५२ हजार ७३७ मेट्रिकटन एलपी ग्यास आयात

beemaadmin
२०८३ भाद्र २९, सोमबार

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिकटन एलपी ग्यास आयात भएको जनाएको छ। उक्त परिमाण करिब ३७ लाख १३ हजार ८९४ वटा सिलिण्डर बराबर हो।

निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार इण्डियन आयल कर्पोरेशन (आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिकटन ग्यास लोडिङ भइसकेको छ। नेपालमा मासिक औसत करिब ४७ हजार मेट्रिकटन एलपी ग्यास खपत हुँदै आएको छ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो गएपछि मुख्य सडक अवरुद्ध भएकाले अहिले वैकल्पिक मार्गमार्फत ग्यास आपूर्ति भइरहेको छ। तराईका उद्योगमा ग्यास रिफिल गरी त्रिभुवन राजपथ तथा बीपी राजमार्ग हुँदै काठमाडौँ उपत्यका र आसपासका जिल्लामा ग्यास ल्याएर वितरण भइरहेको निगमले जनाएको छ।

निगमका अनुसार भदौ १८ देखि २७ गतेसम्म वैकल्पिक मार्गबाट ल्याइएका करिब ३ लाख ९९ हजार ५२९ वटा सिलिण्डर उपभोक्तालाई वितरण भइसकेका छन्।

पछिल्लो १० दिनमा काठमाडौँ उपत्यकामा दैनिक औसत ४० हजार सिलिण्डर ग्यास बिक्री तथा वितरण भइरहेको निगमले जनाएको छ। मुख्य राजमार्ग सञ्चालनमा नआएसम्म तराईका उद्योगमा ग्यास रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौँ ल्याएर वितरण गर्ने व्यवस्था निरन्तर रहनेछ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकका उद्योगमा रिफिल हुने सिलिण्डरलाई बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था गरेको थियो।

राजमार्ग सञ्चालनमा आएपछि एलपी ग्यास बोकेका बुलेटहरू नियमित रूपमा सोही रुटबाट आउने निगमको भनाइ छ। काठमाडौँमा वितरण गर्ने उद्योगहरूले आफ्नै उद्योगबाट ग्यास रिफिल गरेर बजारमा पठाउन थालेपछि आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ।

आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन निगमले उच्चस्तरीय समन्वय टोलीसमेत गठन गरेको जनाएको छ।

कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही

सरकारले ग्यास भरिएका सिलिण्डर लुकाउने तथा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्धको अनुगमन र कारबाहीलाई तीव्र बनाएको छ।

निगमका अनुसार अनुगमनका क्रममा लुकाएर राखिएका करिब १ हजार २०० थान सिलिण्डर फेला पारेर उपभोक्तालाई वितरण गरिएको छ। अनियमितता गर्ने विक्रेतालाई जरिवानासमेत गरिएको निगमले जनाएको छ।

ग्यास सिलिण्डरको बिक्री–वितरणलाई थप पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली विकास गर्ने पहल भइरहेको सहप्रवक्ता सुवेदीले जानकारी दिएका छन्।

गत वर्षको तुलनामा ग्यास बिक्री बढ्यो

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा गत वर्षको तुलनामा एलपी ग्यासको आयात तथा बिक्री बढेको निगमले जनाएको छ। गत वर्षको साउन र भदौको तुलनामा चालु आवको सोही अवधिमा करिब १२ लाख बढी सिलिण्डर बजारमा गएको निगमको तथ्यांक छ।

गत वर्ष साउनमा ३१ लाख २१ हजार ४८ सिलिण्डर ग्यास बिक्री भएको थियो। चालु आवको साउनमा भने ४० लाख ३६ हजार ३६४ सिलिण्डर बिक्री भएको निगमले जनाएको छ।

त्यस्तै, गत वर्ष भदौमा ३३ लाख ५५ हजार ९६० सिलिण्डर बिक्री भएकोमा चालु आवको भदौ २७ गतेसम्म मात्रै ३७ लाख १३ हजार ८९४ सिलिण्डर बजारमा पठाइएको छ।

यसरी हेर्दा सडक अवरोधका कारण आपूर्ति व्यवस्थामा चुनौती देखिए पनि पछिल्लो समय एलपी ग्यासको आयात तथा बजारमा पठाउने परिमाण बढिरहेको निगमको तथ्यांकले देखाएको छ।

सम्बन्धित समाचार