free website hit counter

३१ कम्पनी पाइपलाइनमा, पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

beemaadmin
२०७८ माघ ७, शुक्रबार

काठमाडौं। धितोपत्र बोर्ड नेतृत्व विहीन भएका कारण लामो समयदेखि आइपीओ जारी हुन नसक्दा थुप्रै कम्पनीको आइपीओ पाइपलाइन्मा थुप्रिएको छ । यही बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् ।
बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि कुनै पनि प्रक्रिया अगाडि बढाएको थिएन । गत १४ साउन बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि बोर्डले हालसम्म कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओपश्चात् पछिल्लो समय आईपीओ निष्कासन भएको छैन ।
सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री गरेको थियो । नेपाल धितोपत्र बोर्डले बुधबार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंग्याएको हो ।
बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरीका अनुसार ती कम्पनीहरूले प्राथमिक सेयर निष्कासनका लागि धितोपत्र सूचीकरण र आह्वानपत्र स्वीकृतिको काम भने गर्न बाँकी नै छ । बलेफी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसमेतमा कुल ३६ लाख ५५ हजार ९ सय ४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।
त्यस्तै, ग्रिन भेन्चरस लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २८ फागुन २०७७ बाट धितोपत्र बोर्डमा निवेदन दिएको थियो । जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको हो । जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २४ असार २०७८ बोर्डमा निवेदन दिएको थियो । नेस्डो लघुवित्तले भने ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ बिक्रीका लागि ६ असार २०७८ निवेदन दिएको थियो ।
बोर्डमा ३१ कम्पनीको ८ अर्ब ५० करोड ८७ लाख ८४ हजार ४ सय रुपैयाँबराबरको ७ करोड ८३ लाख ६७ हजार ८ सय ४४ कित्ता आईपीओ निष्कासन स्वीकृतिको पर्खाइमा रहेका छन् । हाल धितोपत्र बोर्डमा यी पाँचवटा कम्पनीसहित ३१ वटा कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन् ।

सम्बन्धित समाचार