free website hit counter

३७ हजारले त्यागे साढे ५ अर्बको बीमा पोलिसी

beemaadmin
२०८२ पुष १७, बिहीबार

काठमाडौं । राजनीतिक अस्थिरतासँगै व्यापार व्यवसाय मात्रै चौपट छैन अर्थतन्त्तको अवस्था पनि निकै कमजोर बनिरहेको छ । यही अवस्थाकै कारण मानिसहरुको आर्थिक अवस्था पनि कमजोर हुँदा थुप्रै क्षेत्रमा यसको असर देखिन थालेको छ । यो मध्येकै असर हो बीमा पोलिसी त्याग्नु । आर्थिक दायित्व थपिँदै जाँदा र आउने बाटाहरु सुक्दै जाँदा मानिसले गरेका बीमालाई निरन्तरता दिन सकिरहेका छैनन् । चालु आर्थिक वर्ष २०८२–८३ को पाँच महिना अर्थात मंसिर मसान्तसम्ममा ३७ हजार १४९ जना बीमितले पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार पाँच महिनामा ३७ हजार १४९ बीमालेख समर्पणबापत् कुल ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ रकम बीमा कम्पनीहरूबाट बाहिरिएको छ । चालु आवको पाँच महिनामा भएको पोलिसी सरेण्डर गत आवको सोही अवधिको तुलनामा १७.५६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूबाट ४५ हजार ६० जना बीमितले पोलिसी त्यागेका थिए । सो संख्या बराबरको बीमितले पोलिसी त्याग्दा गत आवमा ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ रकम बाहिरिएको छ । गत आवको तुलनामा चालु आवको पाँच महिनामा बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या भने बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा १२ लाख २० हजार ४१५ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । गत आवको यही अवधिमा १२ लाख १४ हजार पाँच सय बीमालेख व्यतित भएका थिए । गत आवमा व्यतित बीमालेख रकम ३५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ रहेको छ । बीमा पोलिसी खरिद गर्ने बीमितले तोकिएको समयअगाडि नै बीमालेख त्याग्नुलाई पोलिसी सरेण्डर भनिन्छ । बीमितलाई ऐनलाई बीमालेख सरेण्डर गर्न पाउने अधिकार दिएको छ । जीवन बीमालेखसम्बन्धी निर्देशिका २०७८ अनुसार बीमितले बीमा प्रारम्भ भएको तीन वर्षसम्म निरन्तर बीमा शुल्क तिरेसकेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ ।

सम्बन्धित समाचार