free website hit counter

५१ वटा कम्पनीका शेयरधनीको हात खाली

beemaadmin
२०८१ पुष ४, बिहीबार

काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म सय भन्दा बढी कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । पुष महिना लागेसँगै कम्पनीहरु धमाधम वार्षिक साधारण सभा आह्वान समेत गरिरहेका छन् । सेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरुले यो समयलाई लाभांश सिजनको रुपमा लिएका हुन्छन् । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरी साधारण सभाबाट पारित गर्ने समय भएकाले यो समयलाई लगानीकर्ताले लाभांश सिजनको रुपमा लिने गरेका छन् । लगानीकर्ताहरुमा कम्पनीहरुको एजीएमसँगै विशेषगरी कम्पनीले दिने लाभांशमा बढी चासो हुन्छ । कुन कम्पनीले कति बोनस वा नगद लाभांश प्रस्ताव गर्यो र कुन कम्पनीले यस वर्षका लागि लाभांश नदिने निर्णय गर्यो भन्ने खालका कुरा लगानीकर्ताहरुमा बढी चासो हुन्छ । सयभन्दा बढी कम्पनीले लाभांश बाँड्ने घोषणा गर्दा यता ५१ वटा सूचीकृत कम्पनीले भने कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेका छन् । जसमा अधिकांश हाइड्रोपावर कम्पनीहरु छन् । सेयरबजारमा लो क्याप भएका र आधारभुत पक्षमा कमजोर कम्पनीहरु लगानीकर्तालाई लाभांश दिन नसक्ने अवस्थामा छन् । हालसम्म २७ वटा हाइड्रोपावर कम्पनीले कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेका छन् भने दोस्रोमा माइक्रोफाइनान्स सेक्टर रहेको छ । माइक्रोफाइनान्स समूहअन्तर्गत हालसम्म ९ वटा वित्तीय संस्थाले कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेका छन् भने तेस्रोमा फाइनान्स सेक्टर अन्तर्गत नेपाल फाइनान्ससहित ५ फाइनान्स कम्पनीले लाभांश नदिने निर्णय गरेर लगानीकर्ताको हात खाली बनाएको छ । बैंकतर्फ भने नेपाल इन्फ्रास्ट्रक्चर, एनएमबि बैंक, मुक्तिनाथ विकास बैंक र माछापुच्छ्रे बैंक रहेका छन् भने अन्यतर्फ नेपाल वेयरहाउजिङ कम्पनी, नेपाल रिपब्लिक मिडिया र मुक्तिनाथ कृषि कम्पनी रहेका छन् । त्यस्तै, बीमातर्फ नेपाल राष्ट्रिय बीमा कम्पनी र होटल समूहतर्फ सिटि होटलले कुनै खालको लाभांश नदिने निर्णय गरेको छ । पछिल्लो समय लगानीकर्ताहरुमा कम्पनीहरुले घोषणा गर्ने लाभांशप्रति कुनै आकर्षण देखिदैन । गत वर्षहरुको तुलनामा कम्पनीहरुको लाभांशदर घट्दै जानु नै आकर्षण घट्दै जानुको मुख्य कारण हो । सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था नियमित लाभांश बाँड्ने कम्पनीमा गनिन्छन् । तर नेपाल राष्ट्र बैंकले लगाएको अंकुशका कारण र बैंक वित्तीय संस्थामा बढ्दो खराब कर्जा अनुपातले गर्दा गत वर्षहरुको तुलनामा लाभांशदर अधिकांशको घट्दै गइरहेको छ । केही वर्षअघि सेयरबजारमा चहलपहल हुनेगरी उत्कृष्ट लाभांश बाँडेका नबिल बैंक, एभरेष्ट बैंक, जीवन विकास लघुवित्त र महिला लघुवित्त जस्ता वित्तीय कम्पनीहरुले नै पछिल्लो समय ओभरलमा २० प्रतिशत भन्दा बढी लाभांश दिन सकेका छैनन् । पुँजीबजारमा पछिल्लो समय दीर्घकालिन लगानीकर्ता भन्दा अल्पकालिन लगानीकर्ता हाबी छन् । बजारमा लो क्याप भएका कम्पनी चलाउने टे«ण्डले आधारभुत पक्षमा बलिया कम्पनी भन्दा बढी कमजोर भएका कम्पनीहरु चल्ने गरेका छन् । हल्ला र चर्चाको आधारमा लगानी गर्ने प्रवृत्तिले लाभांश दिन योग्य कम्पनीभन्दा वितरणयोग्य मुनाफा समेत ऋणात्मक भएका कम्पनीहरु नै पछिल्लो बजारमा चल्ने गरेका छन् । जस्तै हालसम्म ५ वटा फाइनान्स कम्पनीले कुनै खालको लाभांश दिन नसक्ने निर्णय गरेका छन् । जसमा नेपाल, समृद्धि, मल्टिपर्पस, वेष्ट र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स रहेका छन् । यी कम्पनीहरुको गत आवको रिर्पोट हेर्दा सबैको वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थमा थियो । जसबमोजिम यस वर्षका लागि लाभांश नदिने निर्णय भयो । तर बजारमा यीनै कम्पनीहरुको दबदबा छ । यस्तै कम्पनीहरुको सेयरभाउ ह्वात्तै बढ्ने र लगानीकर्ता पनि यस्तै कम्पनीको पछि भाग्ने प्रवृत्तिले नै बजारमा आधारभुत पक्षमा राम्रा कम्पनीहरु छायाँमा परेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार