काठमाडौँ । दोस्रो बजारमा सूचीकृत रहेका ५६ वटा कम्पनी तथा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो अवधिमा बजारमा सूचीकृतमध्ये ३६ वटा कम्पनी तथा २० वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८०र८१ को कारोबारमा आधारित तथा त्यो अवधिसम्मको सञ्चित नाफाबाट लाभांश घोषणा गरेका हुन् । यसरी लाभांश घोषणा गर्नेमा वाणिज्य बैंक समूहका ९ वटा, विकास बैंक समूहका तीनवटा, फाइनान्स कम्पनी समूहको एउटा, होटल समूहको २ वटा कम्पनी रहेका छन् । त्यस्तै, लगानी समूहको २ वटा, जीवनबीमा समूहको दुईवटा, उत्पादनमूलक उद्योग चारवटा, लघुवित्त १३ वटा तथा म्युचुअल फण्ड २० वटा रहेका छन् । बैंकिङ क्षेत्रतर्फ २० वटा कम्पनी रहेकोमा अहिलेसम्म ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । यसमध्ये सबैभन्दा धेरै लाभांश स्ट्यान्डर्ड चार्टर्ड बैंकले दिएको छ । एक्त बैंकले नगद र बोनस सेयर समेत गरी २५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै, एभरेष्ट बैंकले कुल १५.५३ प्रतिशत लाभांश दिने निर्णय गर्दा नेपाल एसबीआई बैंकले १०.६५ र नबिल बैंकले १० प्रतिशत लाभांश दिने निर्णय गरेका छन् । अरु बैंकहरुको लाभांश एकल अंकमा छ । विकास बैंकतर्फ कामना सेवा विकास बैंकले १२ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेका छन् । यो समूह अन्तर्गत १७ वटा कम्पनीको शेयर कारोबार हुँदै आएको छ । त्यस्तै, १५ वटा कम्पनी रहेको फाइनान्स समूहमध्ये अहिलेसम्म श्री इन्भेष्टमेन्ट एण्ड बैंकिङले १.९६ प्रतिशत लाभांश घोषणा गर्नुबाहेक अरूले लाभांश दिएका छैनन् । त्यस्तै, पर्यटन क्षेत्र अन्तर्गत सोल्टी होटलले ३६.८४ प्रतिशत, र ओरेन्टल होटलले ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेका छन् । होटल तथा पर्यटन समूहमा हाल ६ वटा कम्पनी सूचीकृत छन् । लगानी समूहतर्फ एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले ५।२६ प्रतिशत, सीईडीबी होल्डिङ्सले ११ प्रतिशत र हाथवे इन्भेष्टमेन्टले १०.५२ प्रतिशत लाभांश घोषणा गरेका छन् । यो समूह अन्तर्गत ७ कम्पनी सूचीकृत छन् । त्यस्तै जीवनबीमा समूहतर्फ सूर्यज्योति लाइफले २० प्रतिशत बोनस सेयर र सानिमा रिलायन्स लाइफले १८३८ प्रतिशत लाभांश घोषणा गरेका छन् । हाल जीवनबीमा समूह अन्तर्गत १२ वटा कम्पनी सूचीकृत छन् । उता उत्पादन तथा प्रशोधनमूलक उद्योगमा कुल ९ वटा कम्पनी रहेकोमा हालसम्म तीनवटाले मात्रै लाभांश घोषणा गरेका छन् । त्यसमध्ये बोटलर्स नेपालले ५० प्रतिशत र युनिलिभर नेपालले १७१४ प्रतिशत र नेपाल ल्युब आयलले २५ प्रतिशत लाभांश घोषणा गरेका छन् । माइक्रोफाइनान्स समूह अन्तर्गत ५० कम्पनी सूचीकृत रहेकोमा अहिलेसम्म १३ वटाको लाभांश मात्रै घोषणा भएको छ । यसमध्ये मिथिला, छिमेक, नेशनल, स्वावलम्बन, आशा र गुराँस लघुवित्त गरी ६ वटाले १५ प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यस्तै, सपोर्टले १४.५ प्रतिशत, फरवार्ड र सानाकिसानले १४ प्रतिशत तथा आरएसडीसीले १० प्रतिशत लाभांश दिँदा फर्स्ट माइक्रोफाइनान्सको ९।४७ प्रतिशत र सूर्योदय वोमीको ७ प्रतिशत लाभांश घोषणा भएको छ । म्युचुअल फण्डहरुमध्ये एनएमबि–५० र सानिमा म्युचुअल फण्डले १५ प्रतिशत लाभांश दिएका छन् । सिटिजन सुपर ३०, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–३, प्रभु सेलेक्ट फण्ड र सानिमा ग्रोथ फण्डले १० प्रतिशत लाभांशसहित दोहोरो अंकमा लाभांश दिन सफल भएकोमा बाँकीको भने एकल अंकमा सीमित भएको छ । अहिलेसम्म निर्जीवन बीमा कम्पनी र व्यापारमूलक कम्पनी र अन्य समूहका कम्पनीले भने कुनै पनि लाभांश घोषणा गरेका छैनन् । कम्पनी ऐन अनुसार प्रत्येक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्छ । वार्षिक साधारणसभाको लागि २१ दिनअघि साधारणसभा बोलाइसक्नुपर्ने व्यवस्था छ । अन्यथा त्यस्तो कम्पनीलाई जरिवाना लिने व्यवस्था कम्पनी ऐनमा छ । यस अनुसार पुस पहिलो साताभित्र साधारणसभा बोलाइसक्नुपर्छ । नियामक निकाय भएका कम्पनीहरूले साधारणसभा घोषणाअघि लाभांश घोषणा गरी नियामकबाट स्वीकृति लिनुपर्ने व्यवस्था समेत छ । तर, समय सकिन लाग्दा समेत न्यून संख्यामा मात्रै लाभांश घोषणा हुन सकेको देखिन्छ ।