काठमाडौं । नेप्सेमा सूचीकृत १६ वटा निर्जीवन बीमा कम्पनीहरुले ९ वटाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । यस्तै एक कम्पनीले लाभांशबीनै गत आर्थिक वर्षको साधारण सभा बोलाएको छ । त्यस अनुसार अझै ६ वटा कम्पनीले लाभांश प्रस्ताव गर्न बाँकि रहेका छन् । राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सिलय इन्स्योरेन्स, सानिमा एसजीआई इन्स्योरेन्स, प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकि रहेका छन् । गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट निर्जीवन बीमा कम्पनीहरुले धमाधम लाभांश प्रस्ताव गर्न थालेका छन् । निर्जीवन बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणबाट गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गराई धमाधम लाभांश प्रस्ताव गर्न थालेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरु मध्ये हालसम्म ९ वटाले लाभांश प्रस्ताव गरेका छन् । बीमा प्राधिकरणले पूँजी बढाउन जोड दिदै कर प्रयोजनको लागि मात्रै नगद लाभांश वितरण गर्न सकिने व्यवस्था गरेको थियो । त्यस अनुसार बोनस शेयरमा जोड दिदै निर्जीवन बीमा कम्पनीहरूले लाभांश प्रस्ताव गर्न थालेका छन् । नेप्सेमा सूचीकृत मध्ये सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमिय इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका हुन् ।
त्यसमध्ये सबै भन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत नगद गरी १६.८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । शिखर पछि सबै भन्दा धेरै लाभांश वितरण गर्नेमा नेको इन्स्योरेन्स रहेको छ । नेकोले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
यस्तै प्रियमर इन्स्योरेन्सले १४.२५ प्रतिशत बोनस शेयर र ०।७५ प्रतिशत बोनस गरी १५ प्रतिशत, सगरमाथा इन्स्योरेन्सले १२.५ प्रतिशत बोनस शेयर र ०.६५७९ प्रतिशत नगद गरी १३.१५ प्रतिशत, एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद गरी १०.५२६३ प्रतिशत सिद्धार्थ इन्स्योरेन्सले ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश गरी ९.४७३७ प्रतिशत, नेपाल इन्स्योरेन्सले ८ प्रतिशत बोनस शेयर र ०.४२११ प्रतिशत नगद गरी ८.४२११ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । सबै भन्दा कम लाभांश प्रस्ताव गर्नेमा भने युनाइटेड इन्स्योरेन्स रहेको छ । युनाइटेडले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद गरी ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरको हो ।
लाभांश प्रस्ताव गरेको मध्ये ४ कम्पनीले मात्रै साधारण सभा बोलाएका छन् । साधारण सभा आह्वान गर्नेमा नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स रहेका छन् । साधारण सभा तथा लाभांश प्रयोजनको लागि यी चार कम्पनीले बुक क्लोज मिति समेत तोकिसकेका छन् ।
नेपाल इन्स्योरेन्सले पुस ८ गते, युनाइटेड इन्स्योरेन्स पुस १७ गते, सिद्धार्थ इन्स्योरेन्सले पुस १८ गते र प्रिमियर इन्स्योरेन्सले पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरिसकेका छन् । त्यस अनुसार बुक क्लोज मितिको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले मात्रै कम्पनीहरुले वितरण गर्ने लाभांश पाउनेछन् । लाभांश प्रस्ताव गरेपनि बाँकी कुनैपनि निर्जीवन बीमा कम्पनीहरुले साधारण सभा बोलाएका छैनन् । लाभांश प्रस्ताव गरेका नेपाल इन्स्योरेन्स बाहेक सबै कम्पनीको लाभांश प्राप्त गर्ने मौक अझै बाँकी रहेको छ ।
अजोड इन्स्योरेन्सले भने गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश विनै पुस ३० गते पाँचौ वार्षिक साधारण सभा बोलाएको हो ।कम्पनीले वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने सामान्य प्रस्तावहरु मात्रै पारित गर्ने तयारी गरेको छ ।