free website hit counter

व्यापारीको स्वार्थमा प्राधिकरण चलाएका सिलवाल नागरिकतामा डामिए

beemaadmin
२०८१ मंसिर २५, मंगलवार

काठमाडौं । व्यापारीक घरानाको इशारामा चलेका नेपाल बिमा प्राधिकरणको अध्यक्षमा सूर्यप्रसाद सिलवाल कार्यकाल सकिनै लाग्दा भ्रष्टाचार मुद्दामा तानिएका छन्। सरकारले २०७७ माघ २० गते चार वर्षे कार्यकालका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका सिलवालको कार्यकाल माघ १९ गते सकिँदै थियो। कार्यकाल सकिनु करिब २ महिना बाँकी छँदै उमेर लुकाएर कानुनविपरीत पदमा बसेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा परेको हो। अख्तियारको आरोपत्रमा २०१५ साउन १५ गतेको जन्ममितिलाई केरमेट गरी राहदानीमा २०१८ कात्तिक २४ गते उल्लेख गरी प्राधिकरणको अध्यक्षको नियुक्ति लिएको उल्लेख गरिएको छ। नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) बाट अवकाश पाएका उनी विषय विज्ञताका बाबजुद प्राधिकरण अध्यक्ष बनेका थिए । पूर्वगृह सचिव रहेका सिलवाललाई तत्कालीन एमाले नेतृत्वको सरकारले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। बीमा कम्पनीलाई प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर बिक्रीको अनुमति दिएको तथा सीमित घरानालाई पुनर्बिमा तथा लघुबिमाको लाइसेन्स दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदको सार्वजनिक लेखा समितिमा उनीमाथि नीतिगत भ्रष्टाचारको उजुरी परे पनि त्यसलाई मिलाउँदै आएका सिलवाल जन्ममितिको फन्दामा परेका हुन् । सिलवाल नेपाल बिमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा २०८० साउन १६ गतेबाट ६६ औँ वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही पछिल्लो ९ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरिरहेको पाइएकोले भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरिएको अख्तियारले जनाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट २०६६ वैशाख १७ नागरिकताको प्रतिलिपि प्राप्त गर्दा जन्म मिति २०१६ कात्तिक २२ उल्लेख छ। त्रिभुवन विश्वविद्यालयवाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा भने जन्म मिति २०१५ साउन १५ लेखिएको छ। सरकारी जागिर खाँदा उनी स्वयंले भरेको नोकरी तथा वैयक्तिक विवरण ९सिटरोल० मा ट्रान्सक्रिप्टको नै जन्म मिति अर्थात् २०१५ साउन १५ उल्लेख गरी २०४३ साउन १ मा शाखा अधिकृतको नियुक्ति पाएका छन्। यही जन्म मितिको आधारमा निजामती किताबखानाबाट उनले निवृत्तभरण अधिकार पत्र प्राप्त गरेको पाइएको छ। उनले नेपाल सरकारको सचिव पदबाट २०७३ साउन १५ गते ५८ वर्षे उमेर हदबाट अनिवार्य अवकाश पाएका थिए। तर, उनले कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न दिएको आवेदनमा झुटा विवरण दिई जन्म मिति २०१८ कात्तिक २४ अर्थात् सन् १९६१ नोभेम्बर ९ कायम गरेको देखिएको छ। आफ्नो वास्तविक जन्ममितिभन्दा करिब ३ वर्ष उमेर घटाएर कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गरेको भेटिएपछि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो।

सम्बन्धित समाचार