काठमाडौं। लकडाउ र सामाजिक दूरीले गर्दा विद्यालय खुल्ने वातावरण कहिले बन्छ भन्ने निश्चित छैन । यही अवस्था रहे शैक्षिक सत्र नै खेर जाने त होइन भन्ने आशंका उब्जिइरहेका बेला निजी विद्यालयहरुले साउन १ गतेबाट लागु हुने गरी वैकल्पिक शिक्षण सिकाईका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका छन् । बुधबार निजी विद्यालयहरुका दुईवटा संगठन प्याब्सन र एनप्याब्सनले सँयुक्त विज्ञप्ति जारी गर्दै वैकल्पिक शिक्षण सिकाईका गतिविधि साउन १ गतेबाट बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन्। यस्तै निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई बेतलबी विदा दिइएको बताएका छन्। नि कोरोना भाईरस सक्रमणको जोखिमका कारण गत चैत ११ गते देखि जारी लकडाउनका कारण आफ्ना आर्थिक गतिविधि शून्य भएकोले उक्त विषयमा तत्काल निर्णय गर्न शिक्षा मन्त्रालयसँग दुवै संगठनले औपचारिक माग गर्दै आएका थिए। आफ्ना माग प्रति शिक्षा मन्त्रालयले वेवास्ता गरेकोले उक्त अप्रीय निर्णय गर्न वाध्य भएको ती दुई सँगठनका अध्यक्षहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सनका अध्यक्ष टीकाराम पुरीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा निजी विद्यालयमा कार्यरत करीव २ लाख ५० हजार शिक्षक–कर्मचारीलाई बैशाख महिनादेखि तलब उपलब्ध गराउन नसक्दा भोक–भोकै रहनु पर्ने अवस्था आएको स्मरण गराईएको छ।