काठमाडौं । कोरोना संक्रमणको दर बढिरहेको बेला बितेको २४ घण्टामा नेपालमा एकै दिन ९ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ। ४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ। काठमाडौंमा मात्र ६५ वर्षीया दुई जना महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ। मोरङमा ६९, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।
उपत्यकामा थपिए ५९७ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिएका छन् । तथ्यांकअनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५९७ संक्रमित थपिएका हुन् ।
देशरभ १०३९ संक्रमित
यस्तै बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । आजको तथ्यांकअनुसार संक्रमितमध्ये आधा बढी उपत्यकामा मै पुष्टि भएको हो । पछिल्लो दिनमा उपत्यकामा संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । यसैगरी आज देशभर सक्रमितको संख्या १५ हजार ११७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् । पीसीआर ९ हजार १८५ जनाको भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ ।