काठमाडौं । नेपालमा निमुखाका लागि सरकार छैन, छन् त केबल पशुपतिनाथ मात्रै । अहिले कोरोना आतंकबीचमा केही आशा देखाएको कोरोना भ्याक्सिन नेपालमा पनि आउने चर्चा शुरु भएको छ । हाल भाइरसविरुद्ध धेरै देशहरुमा भ्याक्सिन उत्पादनको काम भइरहेको छ। अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको भ्याक्सिनले त प्रयोगका लागि स्वीकृति पनि पाइसक्यो। अन्य केही भ्याक्सिनहरुको पनि अन्तिम क्लिनिकल ट्रायल चलिरहेको छ। यसबीच नेपालमा पनि भ्याक्सिनबारे चर्चा सुरु हुन थालेको छ। नेपालले रसियामा उत्पादन भइरहेको स्पुटनिक भ्याक्सिन अर्डर गरिसकेको छ। अन्य भ्याक्सिनको बारेमा पनि अधिकारीहरु छलफलमा छन्।
सरकारले भने पहिलो चरणमा भ्याक्सिन आएपछि नेपालको कूल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध भ्याक्सिन लगाउने तयारी गरेको छ। कूल जनसंख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको बढ्ने र अन्यलाई लगाउनु नपर्ने विश्लेषण गरिएको छ। हालसम्म बालबालिकामाथि भ्याक्सिन परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई भ्याक्सिन लगाउने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।
अहिले निर्माण भइरहेको भ्याक्सिन १५ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र परीक्षण गरिएकाले नेपालमा पनि सोही समूहका व्यक्तिलाई लगाइने उनले बताए। नेपालमा १५ वर्षमुनिका करिब २८ प्रतिशत जनसंख्या रहेको छ। उनीहरुलाई भने भ्याक्सिन दिइने छैन। परीक्षण चरणमा नै रहेको भ्याक्सिन बालबालिकामाथि प्रयोग गर्न मिल्ने प्रमाणित भएपछि मात्रै उनीहरुलाई भ्याक्सिन दिइने अधिकारीले बताए।
सरकारले पहिलो चरणमा २० प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउने तयारी गरेको छ। मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइन्स ‘गाभी’ र ‘सेपी’ संगठनसँग मिलेर ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क खोप ल्याउने तयारी गरेको हो। ‘कोभ्याक्स सुविधा’ ले गरीब र कम आय भएका मुलुकलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ। कोभ्याक्समार्फत ल्याइने खोपका लागि कूटनीतिकपत्र समेत पठाइएको छ। भ्याक्सिनको पहिलो डोज पाउने २० प्रतिशतमध्ये शुरुमा तीन प्रतिशत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धा हुनेछन्।
सरकारले बाँकी ५२ प्रतिशत भ्याक्सिन कूटनीतिक नियोगबाट सरकार–सरकार सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउने छ। सरकारले ४८ अर्ब रुपैयाँ खोप ल्याउनका लागि बजेट विनियोजन गरेको छ। तर यहाँ पहुँच हुनेले बेलैमा कोरोनाको भ्याक्सिन भेट्नेछन् भने पहुँच नहुनेले खोप त के बीर अस्पतालको बेड भेट्न पनि मुस्किल छ ।